- असार ०६, २०८०
काठमाडौँ । प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा भएको व्यवस्था बमोजिम प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग सांसदले गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समय सकिएपछि प्रतिपक्षीले उठेर बिरोध जनाएकामा सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ऐन महरलाई समय दिएका थिए । उनले प्रधानमन्त्रीको उपस्थितिको माग गरेका थिए ।
प्रमले संसद्लाई छलेको भन्दै सांसद महरले नियम ५६ लाई अनदेखा गर्दा प्रम स्वेच्छाचारी हुने भएकाले सदनमा बोलाउन सभामुखसँग माग गरेका थिए । प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्था नियमावलीमा भएकाले सभामुखले पहिलो हप्ताको कुनै एक घण्टा गर्ने व्यवस्था आज जेठको ७ गतेसम्म नभएकाले प्रमलाई उपस्थित गराएर सदन अघि बढाउन उनले माग गरे ।
प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले विधि र नीतिको शासनभन्दा माथि हुने गरी नियमावली बाहिर गएर संसद चल्न नसक्ने भएकाले सभामुखले प्रधानमन्त्रीलाई बोलाउनलाई रुलिङ गर्न माग गरे।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सासद युवराज दुलालले प्रम संसदप्रति जवाफदेही हुनुपर्ने व्यवस्था उल्लङ्घन भएको, संविधान मिचिएको र सार्वभौम जनताप्रतिको सम्मान यही हो भनी प्रमलाई बोलाउन माग गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद खुस्बु ओलीले सदनमा १५ जनाले प्रमलाई प्रश्न सोध्न पाउने, त्यसमा सत्तापक्षकाले पनि सोध्न पाउने भएकाले प्रमलाई उपस्थित बोलाउन माग गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले कार्यसूची अनुसार संसद् अघि बढ्नुपर्ने बताए । सभामुख अर्यालले पटक पटक सांसदलाई बस्न अनुरोध गर्दा नबसेपछि आजै १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ ।
टिप्पणीहरू: