शुक्रबार, ०१ साउन २०८३

‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक


काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ। भदौ २६ गते प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’ को साउन ११ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते देशभर प्रदर्शनमा आउने चलचित्रको पहिलो गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको गीतमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारको आकर्षक अभिनय तथा प्रस्तुति देख्न सकिन्छ। गुरुङ समुदायको सांस्कृतिक परिवेश, भेषभूषा र मौलिक जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीतले दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत रहेको छ भने सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वर सुन्न सकिन्छ।

गीतको कोरियोग्राफी कमलबहादुर गुरुङले गरेका हुन्। संगीत संयोजनमा सञ्जीव बराइलीको गितार, पोषण मगरको मादल, रत्न विश्वकर्माको बाँसुरी तथा मनीष गन्दर्बको सारङ्गी वादन रहेको छ। गीतको मिक्सिङ जन्रिक्सले गरेका छन्।

‘जुनी जाला’ले गुरुङ संस्कृतिअनुसार सजाइएको मौलिक परिवेशमा प्रेम, समर्पण र जीवनभर सँगै रहने प्रतिबद्धताको भावलाई प्रस्तुत गरेको छ। स्थानीय जीवनशैली, प्राकृतिक सौन्दर्य र ग्रामीण परिवेशलाई गीतमार्फत जीवन्त बनाइएको छ। चलचित्रको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र गाउँले परिवेशलाई समेत गीतले प्रभावकारी रूपमा संकेत गरेको छ।

निर्देशक माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने संघर्षको कथा हो।

चलचित्रमा पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारको पनि अभिनय रहेको छ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा निर्देशन स्वयं माओत्से गुरुङकै हो। चलचित्रमा सुशन प्रजापतिको छायांकन, नेमिश श्रेष्ठ र केर डी. कोइच लिनुचको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन, नवीन श्रेष्ठको सिन्क साउन्ड, मनोज श्रेष्ठको भिएफएक्स तथा राजु याक्चाको कला निर्देशन रहेको छ।

चलचित्रका निर्माता मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ हुन् भने डी.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेका छन्। चलचित्रका अन्य गीतमा शिव बराइली र सूरज तमुका शब्द तथा शिव बराइली र सूरज तमुको संगीत रहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। निर्माण टिमका अनुसार चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकारसमेत उत्साहजनक रूपमा विभिन्न मुलुकमा बिक्री भइसकेको छ। हालसम्म हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ भने अन्य देशसँग पनि प्रदर्शनबारे छलफल भइरहेको निर्देशक गुरुङले जानकारी दिएका छन्।

हरितालिका तीजको अवसर पारेर भदौ २६ गते प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’ले ग्रामीण जीवन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र मानवीय संवेदनाको कथा दर्शकमाझ सशक्त रूपमा प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ