बुधबार, १३ जेठ २०८३

अभिनेत्रीकाे काँधमा चलचित्रकाे भारी


काठमाडौँ । चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रेम, त्याग वा भावनामा मात्रै सीमित राखिन्छन् । 

तर पछिल्लो समय यो भाष्य परिमार्जित हुँदै गएको छ । अभिनेत्रीहरु पनि चलचित्र बिकाउन सक्छन् भन्ने भाष्य बन्दै गएको छ । उदाहरणका रुपमा पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रलाई लिन सकिन्छ । 

पछिल्लो समय प्रदर्शनमा आएका ‘लालीबजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘गुरू आमा’ जस्ता चलचित्रमा महिलाहरू कथा सजाउने पात्र होइनन्, कथा चलाउने शक्ति बनेर आएका छन् । पहिलो पटक होइन, तर लामो अन्तरालपछि अभिनेत्रीहरूले पर्दामा ‘लिड’ मात्र होइन, ‘हिरो’ को जिम्मेवारी बोकेका देखिन्छन् ।

यीमध्ये ‘लालीबजार’ अहिले सबैभन्दा धेरै चर्चामा छ । गत वैशाख २५ देखि प्रदर्शनमा रहेको चलचित्रमा स्वस्तिमा खड्काले वादी समुदायकी महिलाको जीवन संघर्षलाई प्रस्तुत गर्नुभएको छ । छोरीको भविष्य जोगाउन समाजसँग जुध्ने आमाको कथा बोकेको चलचित्रले सामाजिक विभेद र कुप्रथाविरुद्ध आवाज उठाएको छ ।

स्वस्तिमा खड्काका अनुसार महिला पात्र केन्द्रमा हुनु आफैँमा ठूलो परिवर्तन हो । उनी भन्छिन्, “हाम्रो चलचित्रमा अझै पनि धेरै कथाहरू पुरुष पात्रलाई केन्द्रमा राखेर लेखिन्छन् । तर दर्शकले अहिले फरक कथा पनि स्वीकार्न थालेका छन् ।” उनले बलियो पटकथा भए पात्रको लिंगभन्दा कथा महत्वपूर्ण हुने बताइन् ।

चलचित्र ‘एक मुठ्ठी बादल’ले महिलाको व्यक्तिगत स्वतन्त्रताको विषय उठाएको छ । चलचित्रमा अभिनेत्री आँचल शर्मासँगै निशा शर्मा, उषा रजकलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा प्राविधिक टोलिसँगै निर्देशक समेत महिला नै छिन् । चलचित्रमा विवाह गर्ने निर्णय लिएकी एक युवतीले निर्णयमा खोज्ने स्वतन्त्रालाई चित्रण गरिएको छ । 

गत जेठ १ मा प्रदर्शन भएको चलचित्र ‘एक मुठ्ठी बादल’ मा  अभिनेत्री आँचल शर्माले ‘माइली’ छोरीको भूमिका निर्वाह गरेकी छिन् । “मैले चलचित्रमा निर्वाह गरेको पात्रले आफ्नो निर्णयको स्वतन्त्रतालाई प्रस्तुत गरेको जस्तो लाग्छ । विवाह गर्न तयार पात्रको मनोविज्ञान र उसले आफ्नो निर्णयलाई अन्य परिवारका सदस्यको दबाव बिना नै स्वतन्त्र रुपमा भन्नसके हुनुपर्छ भन्ने देखाइएको छ । यसमा महिला शीर्ष भूमिकामा हुनुका साथै छायाँकार, सम्पादकलगायत चलचित्र तयार गर्दा तयार हुने प्राय विधाको प्रमुख नै महिला हुनहुन्छ”, अभिनेत्री शर्माले भनिन् । 

आँचल शर्माले चलचित्रले महिलाको निर्णय क्षमता र आत्मविश्वासलाई देखाउन खोजेको बताइन्। “महिलाले आफ्नो जीवनका निर्णय आफैँ गर्न पाउनुपर्छ भन्ने सन्देश चलचित्रले दिन्छ,” उनको भनाइ छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ