- असार ०६, २०८०
२६ चैत, २०८१ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा फर्काउने उद्घोषसहित आन्दोलन सुरु गरेको छ । गत चैत १५ गते राजावादीकै अर्को समूहले (नवराज सुवेदी नेतृत्व)ले आन्दोलन शीर्षकमा हिंस्रक गतिविधि गर्दा दुई जनाको मृत्यु हुनुका साथै करोडौंका भौतिक संरचनामा क्षति भयो ।
सुवेदी नेतृत्वको आन्दोलनलाई समर्थन मात्रै गरेका राप्रपाले चैत २६ लाई आन्दोलन सुरु गर्ने तिथि बनाउनुको कारण ०४६ चैत २६ मा मुलुकमा बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएको थियो । यही दिनलाई गणतन्त्रवादीहरुले विशेष दिनका रुपमा व्याख्या गर्ने गरेका छन् । खासमा गणतन्त्रको सुरुवातकै दिन थियो चैत २६, जुन दिन तत्कालीन राजा विरेन्द्रले दलमाथि लगाएको प्रतिबन्ध खारेज गर्दै बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएको घोषणा गरेका थिए ।
यही तिथि पारेर आन्दोलन सुरु गरेको राप्रपाले भनेको छ, ‘संवैधानिक राजतन्त्र’ । ०४६ मा नेपाली कांग्रेसका नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन र ०८१ सालमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भएको आन्दोलनको म्याण्डेड सारमा उस्तै देखिन्छ ।
राप्रपाले दलमाथिको प्रतिबन्धको कुरा गरेको छैन । पञ्चायतकालको जस्तै राजाको परिकल्पना पनि गरेको छैन । ०४६ सालमा तत्कालीन राजा र दलहरुबीच जेजस्तो सम्झौता भएको थियो, अहिले राप्रपाले त्यही थिति खोजेको छ । तर, लिङ्देनको सपना पूरा हुने सम्भावना किन छैन भने कांग्रेस-कम्युनिष्टका लागि ०४६ को चैत २६ गणतन्त्रको प्रस्थान बिन्दु थियो भने लिङ्देन फेरि पछाडि फर्किने कुरा गर्दैछन् । अहिलेको यो युगमा पछाडि फर्किने कल्पना केबल कल्पना मात्रै हुने सम्भावना अधिक छ ।
०४६ को त्यो आन्दोलन
टेलिफोन थिएन । फेसबुक, ट्वीटर, ह्वाटसएप कल्पनाभन्दा परको कुरा थियो । काठमाडौंमा आन्दोलन सुरु भएको कुरा हावाको बेगमा गाउँमा पुग्यो ।
हामीले पढेको श्री शमीभन्ज्याङ मावि उखुबारी, मैदी धादिङमा पहिल्यैदेखि आन्दोलन चर्कै हुन्थ्यो । अरु कुरा छाडौं, भलिबल र क्यारेमबोर्ड खेल्ने विषयमा समेत अखिल र नेविसंघ मार मुङ्ग्री गरेको हामीले भोग्दै आएका थियौं । १ घन्टा पर सातदोबाटोमा प्रहरी चौकीसमेत भएकाले बेला बेलामा आफू जत्तिकै लामा बाँसका भाटा बोकेका प्रहरी आउँथे र भाटा घुमाउँदै भन्थे ‘साला झाले मालेहरु...!’
काठमाडौंमा आन्दोलन सुरु भएकै तेस्रो दिन स्कुलको साइनबोर्डमा राति कसैले आएर लेखिदिए छ ‘बाममोर्चा’ । हामी स्कुल पुग्दा बाममोर्चाको अर्थ खोज्दै थियाैँ । १० कक्षामा पढ्दै गरेका विद्यार्थी । हामी ८ कक्षा पढ्नेलाई थाहा हुने कुरै भएन । ७ कक्षासम्म सामाजिक विषयमा पृथ्वीनारायण शाहदेखि महेन्द्रसम्मको बखान पढेका हाम्रा लागि बाममोर्चा भन्ने शब्द हामीलाई निकै अनौठो लागिरहेको थियो ।
नेपाली कांग्रेसका तत्कालीन सर्वोच्च नेता गणेशमान सिंहको अगुवाईमा भएको आन्दोलनले काठमाडौंमा जनताको अधिकार खोज्ने कुरा गरे पनि हाम्रा लागि सबैभन्दा बढी मस्तीको वर्ष थियो । एक महिना ढुक्कले गोरुको पुच्छर निमोठेर बिताउन पाइयो ।
हाम्रो स्कुलमा विद्यार्थी मात्रै होइन, शिक्षकहरुमा पनि कम्युनिष्टको बहुमत थियो । जो काठमाडौं आउँछ, उसले भएभरको साप्ताहिक पत्रिका (दृष्टि, विमर्श, समकालिन, जनधारणा, प्रकाश)लगायत लिएर फर्किन्थे । काठमाडौंमा के हुँदैछ । त्यही पत्रिकामा छापिएका ८ पोइन्टका अक्षर पढेर थाहा हुन्थ्यो । अर्का स्रोत थिए- सामल तुमल सकिएर गाउँ फर्किएका कलेज पढ्दै गरेका केटाकेटी ।
घरमा रेडियो पनि थियो, ६ वटा ब्याट्री लाग्ने । रेडियो शिक्षा कार्यक्रमअन्तर्गत आएको दुईवटा रेडियो थियो । एउटा यादव सरको कोठामा हुन्थ्यो, अर्को सिताराम दाइको कोठामा । रेडियोको समाचारमा रस थिएन । हामीले सुन्न चाहेजस्तो समाचार आउँदैनथ्यो । महाराज धिराजद्वारा ‘यसो गरिबक्स्याे’ टाइपको समाचारमा रस थिएन। धेरै त्यही आउँथ्यो । त्योभन्दा मज्जा त शमीभन्ज्याङमा जम्मा भएका मान्छेका कुरा सुन्दा हुन्थ्यो । केही थाहा नभएकाहरु पनि सबथोक थाहा भएझैं यसरी गफ दिन्थे ‘आन्दोलनकारीले पुलिसलाई धुलोपिठो पारे अरे ।’ यस्तै कुरा हुन्थ्यो ।
दिउँसो गोठालो, बिहान-बेलुका मल बोक्ने, दाउरा बोक्ने, पत्कर जम्मा गर्नेलगायत गच्छेअनुसारका काम थियो । खेतबारीमा जहाँ जाँदा पनि कुराको मेसो त्यही आन्दोलनकै हुन्थ्यो । जसले जे सुनेको छ, त्यही भन्थे ।
‘रानीले राजालाई गोली हानिन् अरे । राजाले हातले छेके रे ।’ रानी ऐश्वर्याप्रति गाउँ नकारात्मक थियो । नौ कक्षाको किताबमा भएको चाँदनी शाहको कविता पनि अरु कसैले लेखिदिएको कुरा गर्थे । स्वीट्जरल्याण्डको बैंकमा पम्फादेवीको नाममा खाता खोलेर पैसा राखेकी छिन् अरे । यस्ता किस्सा धेरै सुनिन्थ्यो । आन्दोलन चर्किँदै जाँदा शिक्षकहरुको बासै शमिभन्ज्याङमा हुन थालेको थियो ।
०४६ साल चैत २७ गते बिहानै गाउँभरि हल्ला भयो । प्रजातन्त्र आयो । हामीलाई ७ कक्षामा अंग्रेजी पढाएका गंगा तुलाधर, ०४३ सालमा भएको निर्वाचनमा हात्ती चुनाव चिन्ह लिएर जनपक्षीय उम्मेदवार बनेका राजेन्द्र पाण्डेलगायतका नेताहरु जेलमुक्त भए । गलाभरि माला र अनुहारभरि अबिर लगाएका तिनै नेताहरुको भाषण सुरु हुन थाल्यो गाउँ गाउँमा । घरमा टेपरेकर्डर भएकाहरु चक्कासहित आमसभा स्थलमा पुग्थे र पुरै भाषण रेकर्ड गर्थे ।
०००
आन्दोलन सकियो । स्कुल सुरु भयो । हँसिया हथौडा र चारतारा अंकित झण्डा गाउँ गाउँ पुग्यो । को कांग्रेस, को कम्युनिष्ट प्रष्टै चिनिन्थ्यो । प्रायले घरको धुरीमा आफ्नो पार्टीको झण्डा फर्फराए । गाउँमा एक खालको उत्साह थियो । गाउँलेको जीवनस्तरमा तात्विक अन्तर आएको थिएन तर, पनि मान्छे खुसी थिए । अब गज्जब हुन्छ भन्ने लागेको थियो सबलाई ।
नवराज सुवेदी, मरिचमान सिंह, लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापाको नाम रोडियोमा सुनिन छाड्यो । कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मदन भण्डारीलगायतका नाम धेरै सुनिन्थ्यो ।
राजनैतिक परिवर्तनको असर गाउँमा यति बेगले पस्यो । ०४७ सालताकाको समाज अहिलेका पुस्ताका लागि किम्बदन्ती जस्तो लाग्छ । दाजुभाइ, काकाभतिजाको सम्बन्ध र माओली, ससुरालीभन्दा प्रिय भयो पार्टीको झण्डा । जन्ती, मलामी जानुअघि मान्छेहरु नाता होइन, पार्टी सोध्थे । पार्टी फरक भएकै कारण हलि फेरिए । पुरेत फेरिए । एउटै खालमा जम्मा भएर तीजको दिन गाउँदै नाच्ने दिदीबहिनीहरु पार्टी फरक भएकै कारण छुट्टाछुट्टै समूहमा बाँडिए । गीतको भाका नै फेरियो । यस्ता घटना कति हो कति । त्यसरी पार्टीकै कारण दिदीबहिनी, दाजुभाइ छुट्टाछुट्दै हिँड्दा परिवारमा नमज्जा भयो होला । तर, त्यही घटना हो, नेपालमा गणतन्त्रको जग मजबुत बनाएको थियो । पञ्चायतकालमा बज्ने एउटा गीत ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली...’ जस्तै हरेक नागरिक पार्टीप्रति इमान्दार आस्थावान भए ।
अहिले पार्टी नमिलेकै कारण भारा-पर्म बन्द छैन । बिहे, पास्नीमा ‘कुन पार्टीको’ भनेर हेरिँदैन तर आम मान्छेको पार्टीप्रतिको आस्था उत्तिकै छ । ०४६ मा भएको त्यो उपलब्धि नगुमोस् भन्नेमा बुढा मान्छे मात्रै होइन, जेनेरेशन जी ‘जेनजी’ पुस्ता पनि उत्तिकै सचेत छ ।
दलहरुले सत्ता सञ्चालन गरेपछि पनि विकृति नआएको होइन । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओलीका अवगुणहरु प्रशस्त होलान् तर, पूर्वराजा ज्ञानेन्द्र शाहभन्दा कयौं गुना सज्जन छन् ।
दलका नेताले आफ्ना मान्छेलाई जागिर खुवाउन सक्लान्, ठेक्का दिन सक्लान् । राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री पनि बनाउलान् तर यिनका कमीकमजोरी छताछुल्ल पार्ने छुट सार्वभौम जनतामा निहित छ । यिनले चाहँदैमा कोही पनि कुनै पनि पदका लागि स्थायी पात्र हुन सक्दैनन् । त्यसकारण राजेन्द्र लिङ्देनहरुले यो गर्मीमा सडकमा उभिएर धेरै दुःख नगरे हुन्छ । दरबारको नेटो काटेर बाहिरिएका राजा फेरि फर्केर आउँदैनन् । आउन सक्दैनन् ।
टिप्पणीहरू: