शुक्रबार, २९ साउन २०८३

रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक


काठमाडौं । अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘माया भनेकै यस्तो होला’ को टिजर सार्वजनिक गरिएको छ।

प्रेम, सम्बन्ध र सामाजिक परिवेशलाई केन्द्रमा राखिएको चलचित्रको टिजरले फिल्मको कथावस्तु र पात्रबीचको सम्बन्धबारे कौतूहल जगाउने प्रयास गरेको छ। टिजरमा प्रेमसँगै सम्बन्धभित्र उत्पन्न हुने भावनात्मक उतारचढावलाई प्राथमिकता दिइएको देखिन्छ।

रेखा थापाको तेस्राे निर्देशन रहेकाे यो चलचित्रकाे पटकथा संवाद ध्रुव लम्सालले लेखेका हुन्। हरि नारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको चलचित्र ‘दिया एन्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको हो।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, दिल श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।

निर्देशक थापाले चलचित्रले नेपाली समाजमै घटिरहेका घटना, सम्बन्ध र भावनालाई कथाको आधार बनाएको बताउँदै फिल्म पुरुष र महिला दुवै दर्शकले आफ्नो जीवनसँग जोडेर हेर्न सक्ने दाबी गरेकी छन्।

चलचित्र ‘माया भनेकै यस्तो होला’ भदौ २६ गते तीजको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रलाई देशभर रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने बताइएको छ।

टिजर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ