- असार ०७, २०८०
काठमाडाैं । तत्काल शिक्षा ऐन खोजिरहेका शिक्षकले आन्दोलनलाई थप चर्काउने भएका छन् । सरकार गम्भिर नभएकाे भन्दै शिक्षक महासंघले सबै शिक्षकलाई सडकमा उतार्ने भएकाे छ ।
देशभरका सामुदायिक विद्यालयमा स्थायी, राहत, निजी स्रोत, बालविकासलगायत शिक्षक र कर्मचारी गरी दुई लाख ३४ हजार १७६ जना छन् । अहिले कतिपय शिक्षक आलोपालो आन्दोलनमा छन् । महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकार गम्भीर नभएकाले आन्दोलन थप चर्काउने बताए ।
‘यसपटक हामी परिणाम नलिई विद्यालय फर्कदैनौँ । सरकारसँग वार्ता अझै पनि हुन सकेको छैन, सरकारले वार्ताको उपयुक्त वातावरण नै मिलाएन,’ उनले भने ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्यांकअनुसार देशभर स्थायी दरबन्दीका शिक्षक एक लाख १२ हजार ६७६ छन् । जसमा माविका १३ हजार, राहतका ६ हजार, प्राविका ८० हजार १७६, निमाविका ११ हजार छन् । त्यस्तै, साबिक उच्चमावि, प्रावि, निमावि र मावि गरी राहत शिक्षक ४६ हजार छन् भने बालविकास तहमा ३० हजार छन् । त्यस्तै, स्थानीयको स्रोतबाट राखिएका सात हजार, विद्यालयको निजी स्रोतबाट आठ हजार र विशेष शिक्षाका तीन हजार शिक्षक छन् । देशभरका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी २७ हजार पाँच सय छन् । यी सबै प्रकारका शिक्षक–कर्मचारी शिक्षा ऐन मागेर आन्दोलनमा छन् ।
गत बिहीबार शिक्षामन्त्री विद्या भट्टराईसहित सरकारी प्रतिनिधि र शिक्षक महासंघका प्रतिनिधिबिच भएका छलफल भएको थियो । उक्त छलफलमा शिक्षकहरूले ५ असोज ०८० मा सरकारले गरेको सहमतिसहितका २४बुँदे ध्यानाकर्षण–पत्र बुझाएका थिए ।
महासंघले संसद्को विशेष अधिवेशन राखेर वा बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशमार्फत शिक्षा ऐन ल्याउन दबाब दिइरहेको छ । हालसम्म सरकारले चारपटक वार्तामा बोलाएकोमा महासंघले आफ्ना माग राख्न दुईपटक मात्र बैठकमा प्रतिनिधि पठाएको छ । अहिलेसम्म कुनै अर्थपूर्ण वार्ता र सहमति भएको छैन । यसपालि शिक्षकहरू २० चैतदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।
टिप्पणीहरू: