मङ्गलबार, ०२ वैशाख २०८२

नयाँ वर्षमा पर्यटकले भरिए नगरकोटका होटल


भक्तपुर ।  नयाँ वर्षमा यहाँको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटका ६२ वटा होटल पर्यटकले भरिएका छन् । नयाँ वर्षको अवसरमा नगरकोट बेहुलीझै सिङ्गारिएको छ भने यहाँका होटल र चोकहरुमा झिलिमिलि छ । 

चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा २०८२ साल वैशाख १ गते देखि सुरु गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ लाई स्वागत गर्न आन्तरिक तथा बाह्य पर्यटकको आइरो लागेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए ।

 यहाँका होटलले नयाँवर्षको पूर्वसन्ध्यामा  लाइभ कन्सर्टहरुको आयोजना गरेर पर्यटकलाई मनोरञ्जन दिइरहेका छन् ।  नगरकोट आउन सडकको कुनै समस्या नभएको बताउँदै उनले भ्रमण वर्षले यहाँको पर्यटन मार्फत यहाँका सबै क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सफल हुने बताए । 

पर्यटनको विकासबाटै यहाँको आर्थिक विकाससँगै देशको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले नगरकोट भ्रमण वर्ष आयोजना गरेको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिए । “नगरकोटलाई स्थायी रुपमा सबै विकास गर्ने खाका बोकेर आयोजना गरेको भ्रमण वर्षले व्यवसायीलाई उत्साह थपेको छ ।” उनले भने ।

‘नगरकोट भ्रमण वर्ष–२०८२’ का क्रममा ग्रामीण क्षेत्रका होमस्टेमा पर्यटकको चाप बढेको उन जानकारी दिए । बिहान नगरकोटबाट देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेहरुको भीडले नगरकोटमा आज एकैरात २८ हजार पर्यटक बास बसेको चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।

नगरकोट आउने पर्यटकलाई १० देखि १५ प्रतिशत छुटको व्यबस्था गरेकाले अरु दिनमा आउन पनि सकिने उनले जानकारी दिए ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन लामाले २०७२ सालको महाभूकम्प र लामो समयको कोभिड–१९ ले थला परेको पर्यटन व्यवसायलाई पर्यटन भ्रमण वर्षले पर्यटकको आगमन बढाउने देखिएको बताए। आज नगरकोटमा पर्यटकले भरिएको देख्दा व्यवसायी निकै उत्साहित भएको बताउँदै उहाँले भोली एकैदिन एक लाख पर्यटकको आगमन हुने अनुमान गरिएको बताए। 

स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यवसायमा आशा पलाएको हाेटल व्यवसायी एवं होटल पिसफूलका सञ्चालक रामशङ्कर ध्वजु बताउछन् । उनले चारवटै पालिका मिलेर भ्रमण वर्ष मनाउँदा पर्यटन व्यवसायमा थप उत्साह र लगानी थपिएको बताए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ