- भदौ ०२, २०८१
काठमाडौं । फिल्म ‘रणवीर’बाट करियर सुरु गरेकी अभिनेत्री सुपुष्पा भट्टले पछिल्लो फिल्म ‘फेरि रेशम फिलिली’ सम्म आइपुग्दा प्रायः चञ्चले चरित्र निभाइन् । यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’मा केही फरक चरित्रमा देखिएकाे बताउछिन्।
सुपुष्पा ‘पिताम्बर’मा ‘बिहानी’ नामको पात्रमा देखिँदैछिन् । ‘बिहानी विधवा छे र इनोनसेन्ट छे । बिहानी कसरी विधवा हुन्छे भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्छ’, सुपुष्पा भन्छिन्,‘मैले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा छ । यो क्यारेक्टरमा फेज र ग्राफ छ । कहाँदेखि कहाँसम्म के भइरहेको छ भन्ने बिहानीमार्फत थाहा पाइन्छ ।’
सुपुष्पाको डेब्यू फिल्म ‘रणवीर’ एक्सन बेसमा नै थियो । ‘रणवीर र पिताम्बरको जनरा एउटै भए पनि कथा फरक छ । मेरो क्यारेक्टरमा बिल्कुलै फरकपन पाउनुहुनेछ’, उनी भन्छिन् ।
फिल्मका सह–निर्माता पुरुषोत्तम प्रधानले बोलाएर स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएकी रहिछन् । ‘यो फिल्ममा काम गर्छु भनेर पहिले नै योजना थिएन । स्क्रिप्ट सुनेपछि नाइँ भन्न सकिनँ । वान लाइन र मेरो क्यारेक्टरले तान्यो’, सुपुष्पा खुल्छिन् ।
सुपुष्पाले ‘पिताम्बर’मा अभिनय गरेपछि विधवाको जीवनलाई केही बुझेकी रहिछन् । ‘नेपाली समाजमा बसिसकेपछि विधवाको जीवन बाँच्न गाह्रो हुँदो रहेछ । आफूलाई माया गर्ने मान्छे नै नहुँदा गाह्रो पक्कै हुन्छ । यो फिल्ममा काम गरेपछि मैले केही बुझें । अहिले त महिलाहरुले आफ्नो स्ट्याण्ड लिनुभएको छ । उहाँहरु माथि पनि आइरहनुभएको छ’, उनी भन्छिन् ।
टिप्पणीहरू: