- भदौ ०१, २०८१
चेन्नई । दक्षिण भारतीय टेलिभिजन र चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुभाषिनी सुब्रमण्यमको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको शव चेन्नईको इयप्पंथंगलस्थित भाडाको फ्ल्याटमा फेला परेको हो।
प्रारम्भिक रिपोर्ट अनुसार सुभाषिनीमा डिप्रेशनकाे समस्या थियाे। उनको मृत्यु हुनुभन्दा केही समयअघि मात्रै श्रीमानसँग भिडियो कलमा कुराकानी हुँदा झगडा भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेकाे छ ।
श्रीलंकाली मूलकी सुभाषिनीले दुई वर्षअघि सन् २०२४ मा बिपिन चन्द्रनसँग विवाह गरेकी थिइन्। तर, पछिल्लो समय उनीहरूबिच खटपट भएपछि दुवै अलग बस्दै आएका थिए।
अप्रिल ६ मा सुभाषिनीले आफ्ना पति बिपिनसँग कुरा गरेकी थिइन् । उनीहरुबीच विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सोही झगडापछि आवेगमा आएर उनले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिए पनि प्रहरीले मृत्युको खास कारण पत्ता लगाउन शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।
सन् २०१२ मा ‘इनी अवन’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी सुभाषिनीले तमिल टेलिभिजन उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएकी थिइन्। उनलाई विशेषगरी चर्चित सिरियल ‘कायल’ मा निभाएको दीपिकाको भूमिकाले दर्शकमाझ लोकप्रिय बनाएको थियो। यसका साथै उनले इल्लाम मेला इरुकुरवन पाथुप्पन र वेब जस्ता फिल्महरूमा समेत काम गरेकी थिइन्।
टिप्पणीहरू: