शुक्रबार, ०५ वैशाख २०८२

शास्त्रीले नागरिक स्वतन्त्रताका लागि प्राणदान स्वीकारेका थिए : सुनिता डंगाेल


काठमाडौं । सहिद सप्ताहको पहिलो दिन काठमाडौं महानगरपालिकाले शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा गरिएको छ । शास्त्रीले सामाजिक जागरणका लागि गरेको योगदानको चर्चा गर्दै उनको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । शास्त्रीलाई प्राणदण्ड दिइएको यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखेर संरक्षण सुरु गरेको हो । 

‘इतिहार स्मरण गरेर वर्तमान सम्हाल्ने र पुस्तालाई असल संस्कार पुस्तान्तरण गर्नु हामी सबैको दायित्व हो ।’ सभामा स्मृति मन्तव्य राख्दै महानगरपालिका उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘शास्त्रीले नागरिक स्वतन्त्रताका लागि शासकबाट प्राण बक्सिस माग्नुभन्दा प्राणदण्ड स्वीकार गर्नुभयो । यो अहिलेका पुस्ताका लागि ठूलो सिकाई हो ।’ 

नेपाल भाषाको व्याकरणलाई व्यवस्थित प्रकाशन गर्नमा शास्त्रीको ठूलो योगदान छ । शास्त्रीका वहुआयामिक व्यक्तित्वको कुरा गर्दै डंगोलले, नेपाल, नेपाली, अंग्रेजी, संस्कृतसहितका भाषाको अध्ययन गर्नुभएकाले शास्त्रीमा शिक्षामार्फत सचेतना वृद्धि गर्ने हुटहुटी रहेको उल्लेख गरिन् । 

‘उभिएर बोलेको कसुर लगाएर प्राणदण्ड दिने त्यो अन्धकारमय शासनलाई जनताका हातमा ल्याउन सहिदले गरेको योगदानको सम्मानमा धेरै काम गर्न बाँकी छ । कार्यक्रमलाई विद्यालय स्तरमा लैजाऔँ । एक दिन सहिद सम्झिएर पुग्दैन ।’ मन्तव्यका क्रममा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले धारणा राखे । 

‘शास्त्रीले राजनीतिक आन्दोलन गर्नुभएको थिएन । तर उहाँलाई, नागरिक शिक्षित भए भने स्वतन्त्रताका बारेमा कुरा बुझेर राजनीतिक व्यवस्था बुझ्न सक्ने हुन्छन् भन्ने लागेको थियो । यसैका लागि उहाँले शैक्षिक, धार्मिक र सामाजिक क्रियाकलापमा आफूलाई समर्पण गर्नुभएको थियो ।’ कार्यक्रममा नेपाल आर्य समाजका अध्यक्ष डा. माधवप्रसाद उपाध्यायले सहिदहरुको बलिदानीको सम्मानमा समन्वयात्मक कामको खाँचो देखाए । 

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने सहिदको योगदानको सम्मानमा काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा सप्ताहव्यापी कार्यक्रम आयोजना हुने गरेका छन् । यस क्रममा माघ १३ गते सिफलमा सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थानमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा हुनेछ । 

महानगरपालिकाले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ सहिदहरुको पूर्ण कदको शालिक बनाएर उनीहरुले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ । 




टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ