- भदौ ०३, २०८१
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले सरकारले संसद्का समग्र क्रियाकलापमा अवहेलना गरेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले विषयसूचीबाट पटक पटक सम्भावित कार्यक्रम हटाइएकाे भन्दै सरकारले संसद्काे अवहेलना बताएका हुन् ।
जनताको प्रतिनिधिको आवाज ठीक ढङ्गले सुन्न नचाहिरहेको भन्दै उनले भने, “छलफल गर्ने भनिएको विषयसूची हटाइएको छ । पटक पटक सम्भावित कार्यक्रम हटाइएका छन् । संसद्ले सधैँ सरकारले जे भन्ने हो त्यही अनुसार गर्ने हो कि जनताका प्रतिनिधि भएको संस्थाले बनाएका विषयवस्तु सरकारले पनि पालना गर्ने ?”
यस्तै नेपाली कांग्रेसका सांसद दीपक गिरीले आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई सहमतिअनुसार सरकारले यथाशीघ्र न्याय प्रदान गर्न अनुरोध गरेका छन् ।
उनले भने, “स्वर्गद्वारी आस्थाको धरोहरका रुपमा रहेको छ । यसको संवर्द्धन र प्रवर्द्धनका लागि सरकारको चासो रहनुपर्छ ।” सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै केही समयदेखि स्वर्गद्वारी गुठी पीडितहरु आन्दोलनरत छन् । मोही किसानहरुलाई मोही पुर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।
“स्वर्गद्वारी आश्रमको दाङ देउखुरी र घोराही लगायतमा रहेको जग्गा यदि कुनै सङ्घसंस्थाले वा गैरमोही किसानका नाममा भोगचलन भइरहेको छभने त्यसको पनि राज्यले खोजतलास राज्यले गरोस्”, उनले भने ।
आकस्मिक समयमा सांसद गणेश पराजुली, सीता मिजार, सुशीला सिर्पाली ठकुरी र दिक्पालकुमार शाहीले समसामयिक विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ।
टिप्पणीहरू: