- असार ०६, २०८०
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले आफ्ना कमाणडमा रहेकाे प्रहरीलाई सुरक्षा दिन नसकेकाे भन्दै गृहमन्त्री रमेश लेखककाे नैतिकतामाथि प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको मंगलबारकाे बैठकमा बोल्दै सांसद खनालले अनेरास्ववियुका नेताले ड्युटीमा रहेका प्रहरीलाई कुटेकाे भन्दै गृहमन्त्रीमाथि प्रश्न गरेका हुन्।
‘आफ्नाे कमाणडमा रहेकाे प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले आफ्नाे कुर्सीमा बस्ने हाे? हामीलाई जवाफ दिनुपर्याे’, उनले भने।
प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेतालाई अनुसन्धान गर्ने हिम्मत नगरेकाे भन्दै उनले भने, ‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुका नेतालाई नेपाल प्रहरीले अनुसन्धान पनि गर्ने हिम्मत गरेन छ । त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले म्यासेज गर्नुभएको छ । उहाँहरूले लेख्नुभएको म्यासेज– क्याम्पसमा कक्षा कोठामा सधैँ उहाँहरूको दादागिरी चल्थ्यो, तर अब पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ? कृपया यसको बारेमा बोलिदिनु न भनेर भन्नुभएकाे छ’, उनले भने।
सांसद खनालले सत्ता टिकाउने बहानामा अखिल समर्थक विद्यार्थीहरूलाई अनुसन्धान गर्ने आँट नगरेकाे भन्दै आशिका तामाङलाई हत्कडी लगाएकाेमा आक्रोश पाेखे।
उनले भने, ‘कहिले नेविसंघको विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउने पाउने, कहिले सत्ता टिकाउनुपर्ने बहानामा अखिल समर्थक विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान पनि गर्न आँट नगर्ने। यता अभद्र व्यवहार भनेर आशिका तामाङहरू जस्तालाई १५-१५ दिन हत्कडी लगाएर डुलाउने ?’
टिप्पणीहरू: