- भदौ ०२, २०८१
बलिउडका प्रभावशाली दम्पत्ती मध्ये दीपिका पादुकोण र रणवीर सिंहले चाँडै आफ्नो पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । दीपिका र रणवीरले सन २०१८ मा इटालीको लेक कोमोमा विवाह गरेका थिए ।
यो जोडीले यस वर्षको फेब्रुअरीमा गर्भवती भएको घोषणा गरेका थिए । फ्यानहरूसँग खुसीको खबर साझा गरेपछि, दीपिकाले आफ्नो गर्भावस्थाको आनन्द लिइरहेकी छिन् र खुलेर आफ्नो बेबी बम्पलाई देखाउछिन् पनि । दीपिकाले सेप्टेम्बरमा आफ्नो पहिलो सन्तानलाई जन्म दिने भएकी छिन्, यसैबीच उनको डेलीभरी मितिदेखि प्रसूति बिदासम्मको विवरण सार्वजनिक भएको छ ।
भारतीय न्युज च्यानलका अनुसार सेप्टेम्बर २८ मा दिपिकाको सन्तानको जन्म हुनेछ । अभिनेत्रीले साउथ बम्बईस्थित अस्पतालमा बच्चालाई जन्म दिन सक्छिन् । प्रसवपछि लामो समयसम्म प्रसूति बिदामा बस्ने योजनामा रहेकी दिपिकाले बच्चालाई अधिकतम समय दिने योजना बनाएकी छिन् ।
दम्पतीको नजिकको स्रोतले दिएको जानकारी अनुसार सुत्केरीपछि दीपिका पादुकोण केही महिनाको लागि ब्रेकमा बस्नेछिन् र आफ्नो बच्चाको हेरचाह गर्नेछिन् । २०२५ मार्चमा फेरि आफ्नो काममा फर्कने उनको योजना छ । दीपिकाको सुत्केरी बिदा अर्को वर्ष मार्चसम्म हुनेछ । त्यसपछि दीपिका अमिताभ बच्चन, कमल हासन र प्रभाससँग फिल्म ‘कल्की’ को सिक्वेलको सुटिङमा व्यस्त हुनेछिन् ।
पहिलो सन्तानलाई स्वागत जन्मेपछि दीपिका पादुकोण र रणवीर सिंह आफ्नो ११० करोडको नयाँ आलिशान घरमा सर्नेछन् । दम्पतीको नयाँ घरमा नयाँ पाहुनालाई स्वागत गर्ने तयारी तीव्र रुपमा भइरहेको छ । यसअघि रणवीर र दीपिकाको लगभग तयार घरका धेरै भिडियोहरू सोशल मिडियामा भाइरल भएका थिए । तर, यदि दीपिका र रणवीर आफ्नो नयाँ घरमा सिफ्ट भए भने उनीहरु बलिउड बादशाह शाहरुख खानका छिमेकी बन्नेछन् । एनडीटीभीको एक रिपोर्टमा रणवीर सिंहले शाहरुख खानको घर मन्नत नजिकै एउटा विलासी सी फेसिङ अपार्टमेन्ट ११० करोड भारुमा किनेको बताइएको थियो ।
टिप्पणीहरू: