- भदौ १२, २०८१
पोखरा । नियमित पाठ्यक्रमबाहेक विद्यार्थीहरूमा अन्य पुस्तक पढ्ने अभ्यान निकै कम देखिन्छ । तर, वर्तमान समाज बुझ्न, कुनै विषयमा धारणा बनाउन विद्यार्थीमा पठन संस्कृतिको विकास आवश्यक रहेको पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलका वक्ताले जोड दिएका छन् ।
फेस्टिभलको ‘विद्यालयमा पठन संस्कृति’ शुक्रबार सत्रमा बाल साहित्यकार सुरज उपाध्यायसँगको कुराकानीमा प्याब्सन कास्कीका सचिव सुरेन्द्रमान सिंह भण्डारीले पाठ्यपुस्तकको निर्दिष्ट गन्तव्य हुने भएकाले समाज बुझ्न अन्य पुस्तक पढाउन आवश्यक रहेको बताए । ‘हामी हुर्किरहेका समाजसँग संवाद गर्न पठन संस्कृति सबैभन्दा महत्वपूर्ण छ । त्यसले हाम्रो समाजको सभ्यता, समाजको दायरा र धारणाको निर्माण गर्ने हुँदा अपरीहार्य मानेको छु,’ उनले भने ।
विद्यार्थीलाई समाज बुझाउन पछिल्ला वर्षमा कक्षाकोठामा पढाइराख्नेभन्दा पनि अलग कामको प्रयास भइरहेको भण्डारीले सुनाए । पाठ्यक्रम विकास केन्द्रले बनाएको भन्दा बाहिर जान नसक्दा साहित्य पठन सोचेजस्तो नभएको उनको भनाइ थियो । तर, ढिलोचाँडो हालको पढाइ र पाठ्यक्रम परिवर्तन हुने भण्डारीले विश्वास व्यक्त गरे ।
पठन संस्कृति विकास गर्न परिवार सकारात्मक रहनुपर्ने उनको भनाइ थियो । ‘पाठ्यपुस्तक पढ्यो भने खुसी हुने तर त्योलगायत अन्य पुस्तकमा गहिरो अभिरूचि बढिराख्यो, पढ्दै गयो भने पढेको नमान्ने मानसिकता व्याप्त छ,’ उनले भने ।
नवोदिप बोर्डिङ स्कुलका सञ्चालक कौशल्या गुरुङले पठनसंस्कृति विकास घरबाटै गर्न आवश्यक रहेको बताइन् । घरमै अभिभावकले बाल साहित्य ल्याएर दिने, कथा सुनाउनेबाट पठन संस्कृति विकास हुने उनको भनाइ थियो । विद्यार्थीको सोच शक्ति कति ठूलो बनाउने, कस्तो बनाउने भन्ने शिक्षकमा भर पर्ने गुरूङले बताइन् । ‘जति शारीरिक रूपमा तन्दरुस्त रहनपर्छ त्यतिकै दिमागलाई क्रिएटिभ हुन, विश्लेषणात्मक हुन पढ्नु एकदमै जरूरी छ,’ उनले भनिन् ।
पढ्ने गतिविधिलाई टिकटक, रिल्स र प्रविधिसँग जोड्न सके प्रभावकारी हुने गुरूङको भनाइ थियो । शिक्षालाई संगीतसँग जोड्न सके झनै छिटो विद्यार्थीलाई बुझाउन सकिने भएकाले त्यसलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनले बताइन् । ‘शिक्षालाई पनि संगीतमा ढालेर जति छिटो सम्झन सक्छौं किताब पढेर अलिकति ढिलो हुन्छ । तर किताबको पढाइ गहिरो नै हुन्छ,’ उनले भनिन्, ‘संगीतमा रूचि हुने क्रिएटिभ हुन्छन् भन्ने अध्ययनले देखाएको छ । बुक फ्री डेको दिनमा टिकटकजस्तै बुक टक भन्ने एप छ । त्यस्तो एप प्रयोग गर्न सकिन्छ ।’
हिमालयन बोर्डिङ स्कुलका प्रधानाध्यापक टेकनारायण पौडेलले नेपालमा किताबलाई गलत ढंगबाट परिभाषित गरिएको बताए । विद्यालयको पाठ्यक्रमबाहेक अरू पुस्तकलाई पुस्तक नै परिभाषित नगरिएको उनको भनाइ थियो । ‘किताबलाई गलत ढंगबाट परिभाषित ग¥र्यौं,’ पौडेलले भने, ‘पाठ्यक्रम बाहिरको कुरालाई जोड दिने हो भने बुक फ्री भनेको दिनमा साहित्य, कला, रचना वा जीवन बदल्न सक्ने जीवनी जोडेर सिकाउन सक्छौं ।’
मनोविज्ञान बुझ्ने, समयानुकूल आवश्यकता पहिचान गर्ने कुरा शिक्षकले बुझेर पठनसंस्कृतिको काममा विकास गर्न आवश्यक रहेको उनले सुनाए । ‘बुक फ्री फ्राइडे’ भनेर एक दिन खुसी बनाउने र पाँच दिन किताबको बोझ बोकाउनु ठिक नभएको प्रअ पौडेलले बताए ।
टिप्पणीहरू: