बिहिबार, ०३ मंसिर २०८३

राष्ट्रपति पौडेलले गरे काठमाडौँ- तराई-मधेश द्रुतमार्ग महादेवटार सुरुङको ब्रेक थ्रु


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधिन राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्र्तगत मकवानपुर महादेवटार सुरुङको ( ३.३९९ मिटर) बुधबार ‘ब्रैक थ्रु’ गरेका छन् । 

सो समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु-याउँदै आएको बताए  । 

“विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवम् अनुकरणीय रहेको छ”, राष्ट्रपति पौडेलले भने । 

राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ, पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र क्रियाशील रहेको र काठमाडौँ उपत्यकालाई तराई/मधेशसँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने उgले विश्वास व्यक्त गरे । 

“ यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुने नै छ, राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदानमार्फत देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने यो आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना दृढ रहेको पाएको छु”, राष्ट्रपति पौडेलले भने । 
यस आयोजनाको महत्व केवल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित छैन भन्दै यसले राजधानी काठमाडौँ र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरे । 

“पर्यटन प्रवद्र्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा यस आयोजनाको योगदान दूरगामी र महत्वपूर्ण रहने अपेक्षा गरेको छु, त्यसैले, यो आयोजना निर्माणका लागि कुनै पनि कसर बाँकी नराखी प्रभावकारी समन्वय तथा आआफ्नो जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ निर्वाह गर्दै नेपाली सेनालाई सबैको सहयोग रहने विश्वास गरेको छु”, उनले भने । 

सो कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकास मन्त्री सुनील  लम्साल, नेपालस्थित चीनका राजदूत चाङ माओमिङ तथा कोरियाका राजदूत पार्क जे क्यूङ र प्रधान सेनापति अशोकराज सिग्देललगायतको पनि सहभागिता थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ