आइतबार, ०१ असार २०८२

भिजिट भिसामा संलग्न सहसचिव भट्टराईलाई चोख्याउने तयारी


काठमाडौं। नेपालीमा एउटा उखान छ ‘घर आएपछि कुकुर बलियो।’ भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानबाट नेकपा माओवादी केन्द्र पछि हटेपछि उक्त प्रकरणमा जोडिएका कर्मचारी एवं बिचौलियाहरु पनि शक्ति आर्जन गर्न थालेका छन्।

प्रमुख प्रतिपक्ष दल माओवादीले सत्ताधारी दलसंग सम्झौता गरेर ‘संसद सुचारु गरौं’ भन्दै कांग्रेस-एमालेसँग हातेमालो गरेपछि गृहमन्त्रीबाहेक भिजिट भिसा प्रकरणमा जोडिएका अन्यलाई पनि उन्मुक्ति दिने तयारीमा सरकार लागेको छ। अभियुक्तलाई उन्मुक्ति दिने कार्यमा सरकारले भूमिका बनाउँदैछ भने माओवादी साक्षी बस्न राजी भएको छ।

गृहमन्त्री लेखकको निकट भएर भिजिट भिसाको र्‍याकेट चलाएका सहसचिव तीर्थराज भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अहिलेसम्म मोबाइलको पासवर्डसमेत दिएका छैनन्।

गत जेठ ७ मा अख्तियारमा उपस्थित भएका भट्टराईसँग दुई दिनसम्म अधिकृतहरुले बयान लिएका थिए। उनको दुई थान मोबाइल बरामद गरिएको भए पनि अहिलेसम्म पासवर्ड उपलब्ध गराएका छैनन्।

‘पासवर्ड ठूलो कुरा होइन, सरकारले सामान्य बहानामा सहसचिव भट्टराईलाई पनि उन्मुक्ति दिने तयारी गर्दैछ’, एमालेका एक नेताले भने।

अख्तियार स्रोतले भन्यो, ‘सर्वसाधारणले बुझ्दा अख्तियारले कारबाही गरे जस्तो देखिए पनि कतिपय घटनामा अख्तियारले सरकारकै सहमति अनुरुपमा काम गर्छ।’

स्रोतका अनुसार गृहमन्त्री लेखक र प्रधानमन्त्री केपी शर्मा ओली सहसचिव भट्टराईलाई चोख्याउने उपयुक्त माध्यमको खोजीमा छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ