आइतबार, ०१ असार २०८२

रास्वपालाई कांग्रेसको प्रश्न- सभापति जेलमा रहेकाे पार्टीले अरूलाई नैतिकताको पाठ सिकाउन मिल्छ?


फाइल तस्बिर

काठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई आफूहरूलाई नैतिकताको पाठ नसिकाउन आग्रह गरेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर प्रमुख सचेतक घिमिरेले रास्वपाकाे सभापतिमा अहिले पनि निर्वाचन आयोगको अभिलेखमा रवि लामिछाने भएको भन्दै प्रश्न उठाए।

उनले एक जना सहसचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले विषयलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग्नेले मुद्दा खेपिरहेको रवि लामिछानेलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो? भन्दै प्रश्न गरे।

‘जेठ १३ गतेदेखि रास्वपाले गृह मन्त्रालयका एक जना सहसचिवबारेमा अख्तियारले छानबिन प्रारम्भ गरिरहेकाे विषयलाई लिएर नैतिकताकाे आधारमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिकाे माग गर्दै संसद् अवरूद्धका साथै होहल्ला आएको छ। एउटा कर्मचारीमाथि अख्तियारले छानबिन गरिरहेकाे विषयमा नैतिकताको आधारमा मन्त्रीको राजीनामा माग्ने साथीहरूले पाँच/पाँचवटा अदालतमा सहकारी ठगी सम्पत्ति, शुद्धीकरण, संगठित अपराधको मुद्दा खेपिरहेका र सर्वोच्च अदालतले समेत थुनामा राखी पूर्पक्ष गर्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापति पदमा विराजमान गराइराख्न कुन नैतिकताले दियो?,’ उनले भने, ‘अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापतिकाे पदमा रवि लामिछाने जो जेलमा हुनुहुन्छ, उहाँ नै सभापति पदमा हुनुहुन्छ। त्यो पार्टीले अहिले कसैलाई नैतिकताको पाठ सिकाउन मिल्छ कि मिल्दैन? मेरो यो प्रश्न छ।'

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ