बिहिबार, ०८ माघ २०८२

ओलीको प्रशंसा गरेर गाली खाएका प्रकाश सपुत जस्केलाबाट संसद् भवन छिर्दै


काठमाडौँ। गायनको क्षेत्रमा अब्बल नाम प्रकाश सपुत अभिनेताका सूचीमा पनि अग्लाे स्थानमा छन्। उनका गीत केबल मनोरञ्जनमा मात्रै सीमित हुँदैन। मनोरञ्जनका साथै सामाजिक जागरणको अंश पनि हुन्छ। त्यही कारण नेपाली दर्शकले पनि उनलाई अन्यभन्दा फरक गायकको रुपमा बुझेका छन्, सुनेका छन्।

गीतमार्फत सामाजिक जागरणको वकालत गर्ने गायक सपुत यसअघि उनैले उठाएको आवाजलाई कार्यान्वयन गर्ने तहमा पुग्ने योजनामा छन्।

अहिलेसम्म सर्वाधिक कमाई गर्ने चलचित्र ‘पूर्णबहादुरको सारंगी’ को मुख्य पात्रमध्ये एक सपुत अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा दुई नम्बरमा परेका छन्। यसको अर्थ उनलाई अब प्रतिनिधिसभा सदस्य हुनका लागि कसैले रोक्न सक्ने छैन।

प्रकाश प्रतिनिधिसभा सदस्य हुनका लागि अयोग्य व्यक्ति होइनन्। तर, उनले जुन प्रक्रियाबाट राजनीतिको यात्रा सुरु गरेका छन्, यसले उनलाई अवसरवादीको उपाधि दिएको छ।

समानुपातिक उम्मेदवारका लागि ‘प्राइमरी इलेक्सन’ गरेको रास्वपामा दलित पुरुषतर्फ सर्वाधिक भोट ल्याएका थिए विजय जैरुले। प्रकाशको नाम सूचीमा परेलगत्तै जैरुको नाम काटिएको मात्रै छैन, सामाजिक सञ्जालमा ‘दलितको अधिकार दलितले खोसे’ भन्न समेत भ्याएका छन्।

प्राइमरी इलेक्सन भइसकेपछि रवि लामिछाने र बालेन शाहबीच एकीकरणको असर विजय जैरुमा परेको हुन सक्छ। आम सर्वसाधारणलाई प्राविधिक कुरासँग खास सरोकार हुन्न। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसामा प्रकाशले खर्च गरेको शब्दसहितको भिडियोले अहिलेसम्म उनलाई पिरिरहेकाे छ। साेही भिडियाे शेयर गर्दै प्रकाशको मजाक गर्नेहरु अहिले पनि धेरै छन्।

गीतमार्फत सामाजिक जागरण सिर्जना गर्न भूमिका निर्वाह गरेका प्रकाश प्रतिनिधिसभा सदस्यका लागि अयोग्य पात्र नहुँदा नहुँदै पनि जस्केलाबाट छिर्न खोज्ने उनको दुस्साहसले भने सधैँ आलोचनाको भारी मात्रै बोकेर हिँड्न पर्ने त होइन? भन्ने धेरै प्रश्नहरु उठेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ