- भदौ १२, २०८१
गोलीको छर्राले छेडेर गयो,
यो मुटु फुट्यो, थामिएन रगत।
म जमिनमा ढलेँ,
आँखा खुलेका खुलै रहे।
त्यो कोलाहलमा, बन्दुकको आवाजमा,
आमालाई याद गरें,
बाबालाई याद गरें,
गरें बहिनीलाई याद।
अनि म त शहीद भएँ...
देश बिरामी थियो,
उसलाई निको पार्न मेरो रगत चाहियो,
मैले रगत दिएँ।
एउटा सरकारले मलाई गोली हान्यो,
अर्को सरकारले गर्यो “शहीद” घोषणा।
दश लाख रुपैयाँ — मेरो लासको मूल्य,
साटोमा मेरी आमाले पाइन्
जीवनभर नमेटिने आँसु र पीडा।
गोलीको आवाज अझै कानमा गुन्जिरहेको थियो,
आँखा खुल्ला का खुल्ला थिए।
आर्यघाटको त्यो चितामा म जली रहेँ,
देश पनि जली रह्यो।
अनि म शहीद भएँ...
म ढलेँ — ठ्याक्कै त्यहीँ, जहाँ मेरा साथीहरू उभिएका थिए।
बाबाको आँसु देख्न पाइनँ — उनी रोए होलान् एक्लै।
आमा बेहोस भएर ढलेकी होलिन्,
र चेत खुलेको छैन होला।
मर्नुभन्दा अघि सम्झिएँ उनको न्यानो काख —
सानो बेलाको त्यो स्पर्श।
उनी आउने आशामा
मेरो आँखा खुला रहे।
आज ती हातहरूले मेरो लास छुने मौका पाएनन्,
अनि म शहीद भएँ...
मेरो गोजीमा केही दिनअघि बनाएको पासपोर्ट थियो —
विदेश जानका लागि।
अब त्यो रगतले पोतिएको छ।
म विदेश जान सकिनँ,
बरु म देशकै माटोमा विलीन भएँ।
मेरो सपना त भिजेको खरानी भयो,
बागमतीमा बगिगयो।
अनि म शहीद भएँ...
हे मेरा साथीहरू - तिमीहरू अझै जिउँदै छौ,
देश पनि जिउँदै छ।
त्यसैले, मेरो मृत्युको मूल्य नबिर्स।
हाम्रो अधुरो सपना पूरा गर्नुपर्छ,
सपना पूरा गर्न कसैले मर्नु पर्छ,
अनि म शहीद भएँ...
देशले रगत माग्यो -मैले दिएँ।
मेरो मूर्ति नबनाऊ, फूलमाला नचढाऊ।
मेरो बलिदानको याद गर,
अनि सम्झ —
शहीदहरू मर्दैनन्,
जबसम्म देश बाँची रहनेछ।
आमाको न्यानो काख सम्झिँदै अन्तिम सास फेरेँ।
मेरो आँखा खुला रहे, आँसु झरिरहे,
देशलाई सम्झिरहेँ।
अनि म त शहीद भएँ...
टिप्पणीहरू: