- भदौ १२, २०८१
काठमाडौं । नृपेश उप्रेतीकृत गजल संग्रह ‘आगो रहरको’ सार्वजनिक गरिएको छ । काठमाडौं बत्तिपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा साहित्यकार कृष्णहरी बराल, करुण थापा, लेखक उप्रेतीकी आमा नन्दकुमारी उप्रेती लगायतले गजल संग्रह सार्वजनिक गरेका हुन् ।
कुनै समय नेपालको सञ्चारकर्ममा क्रियाशिल उप्रेती हाल बेलायतमा बसोबास गर्दै आएका छन् । विदेशमा बसेर पनि नेपाली साहित्यमा क्रियाशिल रहेकामा उप्रेतीको काफी प्रसंसा गरे अतिथीहरुले । लेखक स्वयंले संग्रहमा संग्रहित गजल वाचन गर्दा हल ‘वान्स मोर...’ले गुञ्जयमान भएको थियो ।
‘आगो रहर’ सम्पूर्ण हिसावले उत्कृष्ठ संग्रह रहेको टिप्पणी गर्दै साहित्यकार बरालले सबै गजल गायन योग्य रहेको बताए । ‘यो संग्रहको सबै भन्दा महत्वपूर्ण पक्ष यसमा भएका सबै गजल गाउन योग्य छन् ।’ लेखनको वाचन सुनेर बरालले लेखक स्वयंलाई आफैंले स्वर भर्न सुझाव पनि दिए । अर्का अतिथी करुण थापाप्रति हेर्दै बरालले भने ‘करुणजी अब लेखकै स्वरमा रेकर्ड गर्ने विषयमा पनि सोच्ने हो कि ?’
त्यसो त एआइको सहयोग लिएर भए पनि स्वाराङकन गर्न सकिने भन्दै लेखकलाई सुझाव दिँदै भने ‘नेपालमै बसेर एआईको सहयोगमा रेकडिङ सुरु भैसकेको छ । तपाई त झन बेलायत बस्नु हुन्छ ।’ बरालको कुरा सुनेपछि लेखकले मुस्कुराउदै भने ‘एउटा गजल म आफैं गाउँदैछु ।’
लेखकले गजलका सिद्धान्त पूर्ण परिपालन गरेको भन्दै बरालले व्यवहारिक रुपमा संग्रह उत्कृष्ठ भएको टिप्पणी गरे ।
लेखकसँग तीनदशक अघिदेखिको सम्बन्ध स्मरण गर्दै गीतकार करुण थापाले उप्रेतीलाई कुनै बेलाको जिज्ञाशु पत्रकाकारका रुपमा टिप्पणी गरे । आफुले गजल संग्रह निकाल्ने योजना बनाएको डेढ दशक बिताएको तर, संग्रह निकाल्न नसकेको भन्दै उप्रेतीको गजलप्रतिको लगावको प्रसंसा गरे । नारायणपुरी निर्देशित चलचित्र ‘सगुन’ को चर्चित गीत आगो लाग्यो दिलैमा...बोलको गीतका गीतकार समेत रहेका थापाले हरेक गजल सहज भएको टिप्पणी गरे । एउटा सिंगै कृति बहरमा लेख्ने काम निकै गार्हो हुने भन्दै उप्रेतीको प्रयाशको काफी प्रसंसा गरे थापाले । पढदा सहज लाग्ने तर, हरेक गजलको भाव गम्भिर भएको उनको भनाई थियो । १५८ गजल संग्रह रहेको उक्त कृति इण्डिगो प्रकाशनले प्रकाशन गरेको छ ।
टिप्पणीहरू: