बिहिबार, १५ माघ २०८२

‘द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक


काठमाडौं । चलचित्र‘द ब्लू लाइट’ले प्रदर्शनको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेको छ । ‘दुई अक्षरको माया’ बोलको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो ।

गीतमा प्रवेश राईको स्वर, डीपी खनालको शब्द र एसडी योगीको संगीत रहेको छ । गीतमा प्रेम र सम्बन्धको कथा छ । दुई अक्षरको शब्द ‘माया’लाई बुझ्न कति कठिन छ भन्ने गीतमा उल्लेख छ । प्रेम र विश्वास तथा त्यसमा हुने घातलाई सुन्न सकिन्छ ।

प्रेम र आशंकालाई केन्द्रमा राखेको गीतले माया बुझ्न हुने गरेको कठिनाई र त्यसले जिन्दगीमा पार्ने प्रभावलाई उल्लेख गरेको छ ।

गीतको भिडियोमा चलचित्रमा दुई मुख्य कलाकार अपर्ण थापा र बेनिशा हमालको अभिनय छ । उनीहरूबीचको प्रेम र सम्बन्धलाई गीतले देखाउने प्रयास गरेको छ ।

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रको प्रि–बुकिङ खुला भएको छ । देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा एडभान्स् बुकिङ खुल्ला गरिएको चलचित्रको सन्तोषजनक शो पाएको छ ।

यो समाचार तयार पार्दासम्म ‘द ब्लू लाइट’ देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकाका हलमा १३ शो पाएको छ भने मोफसलमा १२ शो पाएको छ ।

यसैगरि, देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईका ५ वटा आउटलेटमा ८ शो, बिग मुभिजले ३ शो र एफक्युब सिनेमाले ३ शो दिएका छन् ।

केही हलहरुमा शो खुल्न बाँकी र अग्रीम टिकट बुकिङ खुल्ला हुँदै गएको र देशभर करिब १ सय २० शो भन्दा बढी पाउने जानकारी वितरण कम्पनी डिसिएन दिएको छ ।

चलचित्रलाई दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क छ । ‘द ब्लू लाइट’मा बेनिशा र अर्पणसँगै श्रृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ