- भदौ १२, २०८१
धादिङ, गजुरी । देशका ७७ वटै जिल्लामा पुग्ने लक्ष्यसहित सञ्चालन भइरहेको ‘हिमालयदेखि महासागरसम्मको नेपाल किताब यात्रा (H2O Nepal Book Journey)’ धादिङको गजुरी गाउँपालिका पुगेको छ । यात्राको अवसरमा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले लेखक तथा यात्रावाहक अशोक सिलवाललाई गाउँपालिका कार्यालयमा स्वागत गरेकी थिइन् ।
यात्रामा तीनवटा पुस्तक समेटिएका छन्, जसले जीवन, यात्रा, आत्मबोध र मानव अनुभवका फरक–फरक आयामलाई प्रस्तुत गर्छन् ।
पहिलो पुस्तक ‘एभरेस्ट:एन अनफिनिस्ड स्टाेरी’ संसारको सर्वोच्च शिखर सगरमाथा आधारित भए पनि यसले गन्तव्यभन्दा यात्राको महत्त्वलाई उजागर गर्छ । शिखरभन्दा पनि धरातल, सफलता भन्दा पनि संघर्ष, र गन्तव्यभन्दा यात्राको अर्थ खोज्ने प्रयास यस पुस्तकको मूल सन्देश हो ।
दोस्रो पुस्तक ‘अप्प दीपो भव:’ कैलाश–मानसरोवर यात्रामा आधारित आध्यात्मिक कृति हो । तीर्थहरूको पनि तीर्थ मानिने कैलाश–मानसरोवरको यात्रालाई आधार बनाएर लेखिएको यस पुस्तकले बाहिरी तीर्थभन्दा आफ्नो अन्तरमनभित्र रहेको प्रकाश र चेतनाको खोजीमा जोड दिन्छ । आत्मरूपान्तरण र आत्मबोधको सन्देश बोकेको यो पुस्तक पाठकलाई आफ्नै भित्रको तीर्थ पहिचान गर्न प्रेरित गर्छ ।
तेस्रो पुस्तक ‘श्रीलंका स्मृति’ महासागरका अनुभूति र यात्राका कथाहरू समेटिएको कृति हो । समुद्रको विशालताभित्र हिमालयको चेतना र अनुभूति खोज्ने प्रयास गरिएको यस पुस्तकले एकत्व, सहअस्तित्व र विश्वमानवताको सन्देश प्रवाह गर्छ ।
यी तीनै पुस्तकलाई साथमा लिएर लाङटाङ दूत समेत रहेका लेखक, पर्यटनकर्मी तथा यात्राकार अशोक सिलवाल देशव्यापी रूपमा हिमालयदेखि महासागरसम्मको नेपाल किताब यात्रारत छन् । पुस्तक, पाठक र समाजबीचको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यसहित अघि बढिरहेको यो यात्रा विभिन्न जिल्ला र समुदायमा पुगेर संवाद, भेटघाट र प्रेरणाको अभियानका रूपमा विस्तार भइरहेको छ ।
यसअघि यात्रा कास्की, पर्वत, बागलुङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे लगायतका जिल्लामा पुगिसकेको छ ।
गजुरी उपाध्यक्ष बिसुरालले ज्ञान, प्रेरणा र सकारात्मक सोचको सन्देश बोकेको यस्तो उज्यालो अभियान आफ्नो पालिकामा आइपुग्नु गौरवको विषय भएको बताइन् । उनले यात्राको थप सफलताको कामना गर्दै एक व्यक्तिबाट सुरु भएको अभियान समाज हुँदै संसारसम्म फैलिने विश्वास व्यक्त गरिन् ।
हिमालयको उचाइदेखि महासागरको विशालतासम्मको अनुभूति समेट्दै अघि बढिरहेको गाउँ पर्यटन दूत समेत रहेका लेखक सिलवाल नेतृत्वकाे यो किताब यात्रा नेपालका ७७ वटै जिल्लामा पुगेर पुस्तक, विचार र मानवीय सम्बन्धको सेतु निर्माण गर्ने लक्ष्यका साथ निरन्तर अगाडि बढिरहेको छ ।
टिप्पणीहरू: