शुक्रबार, ०५ मंसिर २०८२

अवैध सम्बन्ध अरुले थाहा पाउने डरले घाँटीमा थिचेर हत्या


सिन्धुली । अवैध सम्बन्ध अरुले पनि थाहा पाउने डरले ४० वर्षीया महिलाकाे घाँटी थिचेर हत्या भएकाे छ ।

सिन्धुलीकाे  तीनपाटन गाउँपालिका–२ पैरेकी छत्रकुमारी कार्की (थापा) को हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि याे रहस्य सार्वजनिक भएकाे हाे । 

लामो समयदेखि अवैध सम्बन्ध रहेको र अरुले थाहा पाउने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

मृतक छत्रकुमारीका श्रीमान् महेन्द्रबहादुर थापा र सासू–ससुरा भारतमा काम गर्दै आएका छन् । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुवेदीले बताए ।

प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यही कात्तिक १७ गते घरबाट हराएकी ४० वर्षीया छत्रकुमारीको शव कात्तिक २१ गते तीनपाटन गाउँपालिका–१ सिसौघारीमा फेला परेको थियो । यही कात्तिक १८ गते इलाका प्रहरी कार्यालय बेलघारीमा तिलकबहादुर लकाइले दिएको उजुरीका आधारमा प्रहरीले खोजतलास अभियान थालेको थियो । 

घाँटीमा सलले कसेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले दुधौली नगरपालिका–१३ का २९ वर्षीय बुद्धबहादुर कामी, दुधौली–१२ का अर्जुन विक र पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ का २६ वर्षीय धर्मराज रामलाई पक्राउ गरेको थियो । सोधपुछका क्रममा घटनामा दुधौली–१३ का सूर्यबहादुर कामी र उनका भाञ्जा टङ्कबहादुर कामी संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक सुवेदीले बताए । 

सूर्यबहादुरलाई दाङको लमही नगरपालिका–५ बसपार्क क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुली ल्याइएको हो । उनले प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरेको स्वीकारेका छन् । घटनामा संलग्न भनिएका सूर्यबहादुरका भाञ्जा टङ्कबहादुरलाई दुधौली–९ बाट पक्राउ गरी अनुसन्धान भइरहेको छ । मृतक छत्रकुमारीको मोबाइल फोन अभियुक्त सूर्यबहादुरले फ्याँकेको ठाउँबाट प्रहरीले बरामद गरेको छ । शव परीक्षण प्रतिवेदनमा उनको मृत्यु सलले घाँटी थिची गरिएको पुष्टि भएको छ । प्रारम्भिक बयानअनुसार अवैध सम्बन्धका कारण हत्या भएको खुल्न आएको छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ