- साउन ०५, २०८१
नयाँ दिल्ली । टेलिभिजन सिरियलकाे कलाकार बन्न चाहने एक महत्वाकांक्षी युवतीलाई भारतका एक पुजारीले भान्जी नाता लगाएर यौन सम्पर्क राखे । जब युवती गर्भवती भइन्, तब फकाईफुल्याई गर्भपतन गराए । गर्भपतनपछि पनि युवतीले विवाहका लागि दबाब दिन छाडिनन् । दुई छोराछोरीका बाबुसमेत रहेका मन्दिरका पुजारीले युवतीलाई जीवनबाट हैन, संसारबाटै हटाउने निर्णय लिए ।
कुरुगंती अप्सरा टेलिभिजन सिरियलमा सामान्य भूमिका निर्वाह गर्थिन् । सोही क्रममा उनको सफ्टवेयर इन्जिनियर कात्तिक राजासँग भेट भयो । उनीहरु प्रेममा परे, विवाह भयो । तर, विवाह धेरै दिन टिकेन । विवाहको केही महिनापछि नै कात्तिकले आत्महत्या गरे । कुरुगंती एक्लो भइन् । कात्तिकका घरका सदस्यका अनुसार कुरुगंतीकै कारण कात्तिकले २५ लाख लोन लिएका थिए । लोन तिर्न नसकेपछि आत्महत्याको बाटो अपनाएका थिए ।
श्रीमानको निधनपछि कुरुगंती माइतीमा आमासँगै बस्न थालिन् । बुबाको निधन भइसकेको र अन्य भाइबहिनी नभएकाले आमा पनि एक्लो थिइन् । कहिलेकाहीँ प्राय बेलुका १० बजेतिर कुरगंती साथीहरुसँग घुम्न निस्कन्थिन् र केही घन्टापछि साथीहरुसँगै फर्किन्थिन् ।
त्यसैगरी एकदिन उनी साथीका साथ कोयंबटूर गएकी तर, कहिल्यै फर्केर आइनन् ।
रोमान्सदेखि हत्यासम्म
३ जुन २०२३ मा कुरुगंती अप्सरा आफ्ना साथीहरुसहित कोयंबटूरको भद्राचलम जाने योजना बनाउँदै थिइन् । राति अबेर घरबाट निस्किएकी उनले छिमेकी अयागरी साई कृष्णलाई बस भएको ठाउँसम्म छाडिदिन आग्रह गरेकी थिइन् । अयागरी हैदराबादको सरुरनगरको बंगारु मियासम्मा मन्दिरका पुजारी थिए । उनीहरु पारिवारिक रुपमा मित्र थिए ।
कुरुगंती आमा अरुणाको साथमा कहिलेकाहीँ मन्दिर जान्थिन् । सोही क्रममा उनको पुजारीसँग कुराकानी भएको थियो । पुजारीले उनकी आमालाई दिदी भन्थे भने कुरुगंतीलाई भान्जी ।
राति १० बजे हिँडेकी कुरुगंती अबेरसम्म घरमा नआएपछि आमाले फोन गरिन् । फोन स्वीचअफ थियो । छोरीको मोबाइल स्वीच अफ भएपछि उनी मन्दिर गइन् र पुजारीलाई सोधिन् । किनकी अघिल्लो दिन पुजारीसँगै हिँडेको आमालाई जानकारी थियो । पुजारीले राति साथीसँगै कुरुगंतीलाई छोडिदिएको बताए ।
४ जुनमा कुरुगंतीकी आमा र पुजारी मिलेर उनको खोजी गरे । तर, कहीँकतै भेटिइनन् । कुनै उपाय नलागेपछि ५ जुनमा प्रहरीमा उजुरी दिने निर्णय गरिन् आमाले । आमाको अनुहारमा तनाव देखेपछि पुजारीले पनि सघाए आमालाई ।
जब प्रहरीमा उजुरी पर्यो, प्रहरीले पुजारीमाथि विषेश निगरानी राख्याे । कुरुगंती गएको भनेको ठाउँको भिडियो फुटेजहरु हेरेरै प्रहरीले पुजारीलाई शंकाको घेराभित्र राखिसकेको थियो ।
जब प्रहरीले पुजारीलाई पक्राउ गरेर बयान लिन थाल्यो, उनले फरक फरक बयान दिन थाले ।
यसरी भएको थियो हत्या
घटनाअनुसार कुरुगंतीलाई पुजारीले नै आफ्नो गाडीमा राखी लिएर गएका थिए । यात्राकै क्रममा उनले निन्द्रा लाग्ने औषधी खुवाए । जब कुरुगंती निदाइन्, गाडीकै ड्यासबोर्डमा टाउको ठोक्काएर मार्ने प्रयास गरे । कुरुगंती बचाउ भनेर चिच्चाइन्, पुजारीले सडकको ढुंगा टिपे र टाउकोमा हिर्काए । जब कुरुगंतीको मृत्यु भयो, उनको शवलाई गाडीको डिकीमा राखेर गाडीलाई पार्किङमा छाडिदिए ।
उनको हत्या गरेपछि पनि पुजारी कुरुगंतीको खोजीका लागि आमालाई सहयोग गरेको नाटक गर्दै थिए । उनी बेला बेलामा पार्किङमा राखेको गाडी भएको छेउमा पुग्थे र गन्ध आएको छ कि छैन भनेर विचार गरेर स्प्रेहरु छर्किन्थे । कुरुगंतीको हत्या गरेको दोस्रो दिन पनि उनी आमासँगै खोजेविनमा संलग्न थिए । उनलाई शव व्यवस्थापन गर्न गाह्राे परिरहेको थियो । आफूले पूजा गर्ने मन्दिरको छेउमा भएको ठूलो सेफ्टी ट्याङकी थियो, त्यसैमा शव राखे ।
भान्जीसँग रोमान्स
पुजारीले कुरुगंतीलाई भान्जी भनेर सम्बाेधन गरे पनि मन्दिर जाने क्रममा भेटिएका उनीहरु पछि प्रेममा परेका थिए । उनीहरु परिवार र साथीभाइलाई झुक्याएर घुम्न गइरहन्थे । जब कुरुगंती गर्भवती भइन्, पुजारीलाई विवाहका लागि दबाब दिन थालिन् । पुजारी छोराछोरीका बुबासमेत भएकाले कुरुगंतीसँग विवाह गर्न सम्भव थिएन ।
गर्भवती कुरुगंतीलाई फका फुल्याई पुजारीले गर्भपतन गराए, तर पनि कुरुगंतीले विवाहका लागि दबाब दिन छाडिनन् । विवाहका लागि पटक पटक दबाब दिएकै कारण कुरुगंतीलाई संसारबाटै बिदा गरेका पुजारी अहिले जेलमा छन् ।
टिप्पणीहरू: