- भदौ १२, २०८१
काठमाडौं । उपन्यासकार नीलम कार्की निहारिकाको नयाँ औपन्यासिक कृति ‘राजमाता’ लोकार्पण गरिएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार आयोजित एक विशेष कार्यक्रममा संस्कृतिविद् प्रा.डा. वीणा पौड्याल र लेखक निहारिकाले संयुक्त रूपमा उपन्यास लोकार्पण गरे ।
कार्यक्रममा संस्कृतिविद् पौड्यालले उपन्यास ‘राजमाता’बारे समीक्षात्मक टिप्पणी गरिन् । साहित्यमा इतिहासलाई आधार मानेर लेख लेख्ने महिला साहित्यकार निकै कम रहेको र निहारिकाको ‘राजमाता’मा लामो खोज समेटिएको पौड्यालको भनाइ छ । यस उपन्यासले इतिहासको एक हिस्सालाई सुन्दर एवम् विशेष दस्तावेज नै सार्वजनिक गरिदिएको उनले जनाइन् ।
इतिहासको एउटा कालखण्डलाई बुझ्न र त्यति बेलाको राजकीय शानमान एवम् सामाजिक–सांस्कृतिक रहनसहनबारे जानकारी दिन उपन्यास सक्षम रहेको पौड्यालले बताइन् । ‘त्यति बेलाको सामाजिक र राजनीतिक प्रतिबिम्ब उपन्यास राजमाताले झल्काउँछ,’ उनले भनिन्, ‘त्यस कालखण्डको धेरै नालीबेली यसले समेटेको छ । तसर्थ पुस्तक पठनीय छ ।’
कार्यक्रममा लेखक निहारिकाले आफ्नो पुस्तक लेखनयात्राबारे चर्चा गरिन् । सन् २०१९ देखि ‘राजमाता’ उपन्यास लेख्न थालेको भए पनि बीचमा कोरोना महामारीले उपन्यास थन्किएको उनको भनाइ छ । ‘लेख्दालेख्दै मरिने हो कि ? जस्ता भावनाले मलाई त्यति बेला राम्रैगरी अल्झाए,’ उनले विगत सम्झिइन् । तर अहिले ‘राजमाता’लाई यसरी बजारमा ल्याउन पाउँदा आफूले सबै दुःख भुलेको उनले जनाइन् ।
अहिले राजमाता प्रकाशन गर्न सक्नु आफ्नै जीवनको अमूल्य पल महसुस गरेको निहारिकाले बताइन् । मनमा अनेक विचलन आए पनि उपन्यास लेखेरै छाडेको उनको भनाइ छ । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।
पुस्तकमा के छ ?
नेपालको मानचित्रले आजको आकार लिनुअघि कहिले परपरसम्म फैलिनु, कहिले खण्डित हुनु र खुम्चिनुको नियति भोग्नुप-यो । विभिन्न कालखण्डमा ससाना राज्यको अभ्युदय भयो । बलियाले कमजोरलाई अपदस्त गर्दै थरीथरी वंशजले शासनको बागडोर हात लिए । कहिले एकल, कहिले संयुक्त, उभय या अर्धराज्यको स्वरूपमा शासन चलाए । ती राज्य विजय गर्ने राजकुलका नाममा प्रशस्ति अनि उल्लेखनीय घटनाका इतिवृत्त अभिलेखीकरण गरिए । केही नारीले पनि शिलास्तम्भ, ताम्रपत्रमा उत्कीर्ण लेख या ग्रन्थका पुष्पिकावाक्य भएर पति या पुत्रका नामसँगै कुदिने, मुद्रामा अङ्कित हुने अवसर प्राप्त गरे । यदाकदा वंशावलीका हरफमा पनि समेटिए ।
कालान्तरमा पुरातत्त्वविद्ले छोपिएको ऐतिहासिक दस्तावेजलाई उत्खनन र अनुसन्धान गरे, इतिहासविद्का कलमले बडो मिहिनेतसहित किताबमा उतारे ।
तिनै इतिहासका पृष्ठमा समेटिए पनि महत्त्वका साथ राज्यले नपढाएका, ध्यानपूर्वक नपढिएका केही वीरप्रसूका सिलसिलाबद्ध कथाको सुन्दर माला हो, राजमाता ।
को हुन् निहारिका ?
नेपाली साहित्यमा विद्यावारिधि गरेकी नीलम कार्की निहारिका नेपालकी अग्रणी लेखकमध्ये एक हुन् । २०४१ सालबाट ‘आमा’ कवितामार्फत नेपाली साहित्यमा प्रवेश गरेकी उनका कविता, कथा र उपन्यास विधाका १२ कृति प्रकाशित छन् ।
निहारिकाका उपन्यास चीरहरण (२०७२), योगमाया (२०७४), द्रौपदी अवशेष (२०७८) ले क्रमशः पद्मश्री साहित्य पुरस्कार, मदन पुरस्कार र गंकी धुस्वाँ वसुन्धरा पुरस्कार (२०७८) प्राप्त गरेका छन् । उनको उपन्यास अर्की आइमाईले सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक पुरस्कार (२०७१) र कथासङ्ग्रह बेलीले नई गणेश दुर्गा पुरस्कार (२०७१) प्राप्त गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कविता महोत्सव, हिम्सफा राष्ट्रिय कविता महोत्सवलगायत प्रतियोगियामा समेत उनी पुरस्कृत भएकी छन् ।
राधादेवी सद्भाव स्रष्टा सम्मान (२०७७), योगमाया राष्ट्रिय पुरस्कार (२०८१) बाट विभूषित निहारिकाका सिर्जना विद्यालयका विभिन्न तहदेखि विश्वविद्यालयसम्म अध्यापन हुने गर्छन् ।
टिप्पणीहरू: