मङ्गलबार, २० असोज २०८३

‘कबड्डी ५' को गीत ‘थाक खोला’ सार्वजनिक


काठमाडाैं ।  निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को गीत ‘थाक खोला’ सार्वजनिक भएको छ । सिनेमा निर्माण टिमले सोमबार बाँसुरी फिल्मस्को अफिसियल युट्युबमार्फत ‘थाक खोला’ बोलको गीत सार्वजनिक गरेको हो ।

कालीप्रसाद बास्कोटाको स्वर रहेको गीत उनकै शब्द र संगीत छ । गीतको मिक्सिङ तथा मास्टरिङ, संगीत संयोजन, गिटारवादन रिकेश गुरुङ किजको रहेको छ । त्यस्तै गीतको सारंगीमा हेमन्त कान्छा रसाइली र बेश गिटारमा कृष्ण लिम्बूले साथ दिएका छन् ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन् । भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको रमाइलो नोकझोक, प्रेम र सम्बन्धका भावनात्मक पाटोलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । तीनै जनासँग दयाहाङको प्रेम र उनीहरूबीचको रमाइलो नोकझोकले गीतको भिडियो मनोरञ्जनसँगै सिनेमाको कथाप्रति कौतुहलता पनि बढाएको छ ।

भिडियोको अर्को प्रमुख आकर्षण भनेको थाक खोलादेखि सेताम्य हिमाल र हरियाली डाँडापाखासम्मका मनमोहक प्राकृतिक दृश्य हुन् । यी दृश्यहरूले गीतको भाव र कथालाई अझ सुन्दर तथा जीवन्त बनाएको छ । विशेषगरी भिडियोमा छुट्टै नृत्य वा कोरियोग्राफीलाई प्राथमिकता दिइएको छैन । सिनेमाकै कथाशैलीलाई निरन्तरता दिँदै पात्रहरूको सम्बन्ध, प्रेम, नोकझोक र भावनालाई कथामार्फत प्रस्तुत गरिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ