मङ्गलबार, ०१ मंसिर २०८३

इमरान खानको स्वास्थ्य गम्भीर


लण्डन ।  पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोराहरूले जेलमा उनलाई शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाउँदै तत्काल उपचार र परिवारसँग सम्पर्कको व्यवस्था नगरिए ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।

स्काई न्युजसँगको अन्तर्वार्तामा सुलेमान इसा खान र कासिम खानले आफ्ना ७४ वर्षीय बुबालाई अडियाला जेलमा दिनको २२ देखि २३ घण्टासम्म एकान्त कारावासमा राखिएको र स्वतन्त्र चिकित्सकको पहुँचबाट वञ्चित गरिएको बताए । उनीहरूको दाबीअनुसार खानको रक्तचाप करिब १९३ पुगेको छ र तत्काल उपचार आवश्यक छ ।

छोराहरूले सर्वोच्च अदालतले गत अगस्ट १८ मा खानलाई सिफा अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउन तथा परिवारसँग नियमित फोन सम्पर्कको व्यवस्था गर्न दिएको आदेश कार्यान्वयन नभएको आरोप लगाएका छन् । खानले पनि हालै सार्वजनिक गरेकाे खुला पत्रमा रक्तचाप १९२ देखि १९३ पुगेको, मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको तथा दाहिने आँखाको ८५ प्रतिशत दृष्टि गुमाएको उल्लेख गरेका छन् । उनले सन् २०२५ डिसेम्बर २० देखि दैनिक २२ घण्टा एकान्त कारावासमा राखिएको र भेटघाट तथा कानूनी परामर्शमा प्रतिबन्ध लगाइएको बताएका छन् ।

छोराहरूले बुबासँग अन्तिम पटक गत मार्च २२ मा फोनमा कुरा गरेको र सन् २०२२ नोभेम्बरयता व्यक्तिगत रूपमा भेट्न नपाएको बताएका छन् । हत्याको प्रयासमा गोली लागेर घाइते भएको केही समयपछि सन् २०२३ अगस्टमा खान पक्राउ परेका थिए ।

अदालतको आदेशअनुसार खानलाई निजी अस्पतालमा सार्नुपर्ने भए पनि अधिकारीहरूले उनलाई राज्यद्वारा सञ्चालित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा केही समय राखेर पुनः जेल फर्काएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । सूचना मन्त्री अत्ताउल्लाह तरारले सुरक्षा चुनौतीका कारण यस्तो गरिएको बताएका थिए भने पिटिआईले उक्त तर्क अस्वीकार गरेको छ ।

खानले जेलमा रहेकी पत्नी बुशरा बीबीको स्वास्थ्यबारे पनि चिन्ता व्यक्त गरेका छन् । सन् २०२५ जनवरीदेखि जेलमा रहेकी बुशरा बीबीले गत अप्रिलमा आँखाको जटिल शल्यक्रिया गराएकाे र उनको दृष्टि स्थायी रूपमा गुम्न सक्ने जोखिम रहेको खानको भनाइ छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ