मङ्गलबार, ०१ मंसिर २०८३

मधेसको सत्ता राजनीतिमा नयाँ समीकरणको खोजी


फाइल तस्बिर

धनुषा । मिथिला क्षेत्रको मुख्य चाड छठ पर्वको समापनसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलको सक्रियता बढेको छ । 

मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि दलहरूबीच सत्ता समीकरण, नेतृत्व र मन्त्रालय बाँडफाँटबारे छलफल तीव्र तुल्याइएको छ । 

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार गठन गर्ने विषयमा अहिले नेताहरूबीच संवाद अघि बढेको छ । प्रारम्भिक छलफलमा जसपा नेपालले सरकारको नेतृत्व गर्ने त्यसमा एमाले र नेकपाले समर्थन गर्ने गरी समीकरण निर्माण गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री यादवले गत कात्तिक २८ गते पदबाट राजीनामा दिएका थिए । एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको हो । आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि विश्वासको मत लिने प्रक्रियामा प्रवेश गर्नुअघि नै उनले पद त्यागे ।

मुख्यमन्त्रीको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाअघि बढेको छ । प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले संविधानअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । 

प्रदेश प्रमुखले आगामी मङ्सिर ४ गते अपराह्न ४ बजेसम्मको समयसीमा निर्धारण गरेका छन् । नेकपाका नेता भरतकुमार साहले जसपा नेपालकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको बताए ।  उनले भने, “संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परिपाटी रहेकाले जसपाकै नेताको सम्भावना बलियो छ । यद्यपि अन्य नेताको पनि दाबी छ ।” 

जसपा नेपालका नेता जीतेन्द्र सोनारले भने मुख्यमन्त्रीको उम्मेदवारका विषयमा पार्टीभित्र औपचारिक छलफल भइ हालसम्म निष्कर्षमा पुगी नसकेको  बताए । सरकार गठन र मन्त्रालय बाँडफाँटबारे अहिले नै केही भन्न नसकिने उनको भनाइ छ । सोनार यसअघि मधेस प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलका नेता थिए । लोसपा नेपाल गत पुस २७ गते जसपा नेपालमा समाहित भएको थियो ।

एमाले मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले पनि नयाँ सरकार गठनका विषयमा अनौपचारिक छलफल भइरहेको बताए । उनले औपचारिक निर्णयका लागि तीन दलबीच थप छलफल आवश्यक रहेको उल्लेख गरे ।

जसपा नेपालका नेता मनिषकुमार सुमनले पनि आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने परिस्थिति देखिएको बताए । प्रदेशसभामा जसपा नेपालको सिट सङ्ख्या अन्य दलको तुलनामा बढी रहेकाले सरकारको नेतृत्व लिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

प्रदेशसभाको पहिलो कार्यकालमा जसपा नेपालका नेता लालबाबु राउतले विसं २०७४ फागुन २ देखि विसं २०७९ पुस २९ गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । मधेस प्रदेश स्थापनापछि पहिलो कार्यकाल उनकै नेतृत्वमा सरकार  गठन भएको थियो ।

प्रदेशसभाको दोस्रो निर्वाचनपछि जसपा नेपालका सरोजकुमार यादव विसं २०७९ पुस २९ गते मुख्यमन्त्री बन्नुभयो । तर, प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँ विसं २०८१ जेठ २३ गते पदमुक्त हुनुभयो । त्यसयता मधेस प्रदेशमा मुख्यमन्त्री फेरिने क्रम निरन्तर जस्तै बनेको छ । जसपा नेपालका सरोजकुमार यादवपछि विसं २०८१ जेठ २५ गते जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए । सिंहले विसं २०८२ असोज २८ गते राजीनामा दिएपछि तत्कालीन लोसपाका जीतेन्द्र सोनारले विसं २०८१ असोज २९ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले । 

विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उनले सोही वर्षको कात्तिक २२ गते एक महिनाभित्रै राजीनामा दिएका थिए । त्यसपछि एमालेका सरोजकुमार यादव सोही कात्तिक २३ गते मुख्यमन्त्री बने। उनले सोही बर्षको मङ्सिर १७ गते पनि विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि पदबाट राजीनामा दिए । त्यसपछि मङ्सिर १९ गते कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री बने ।

उनले गत कात्तिक २८ गते राजीनामा गरेसँगै प्रदेशमा पुन: नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । १०३ सदस्यीय मधेस प्रदेशसभामा उपलब्ध दलगत विवरणअनुसार जसपा नेपालका २७, एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक–एक सिट छ ।

प्रदेशसभामा सदस्यको सङ्ख्या र दलहरुबीचको हुने गठबन्धनका आधामा नयाँ सरकार गठनको समीकरण बन्नेछ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ