शुक्रबार, २५ वैशाख २०८३

मह जोडीले तारिफ गरेकाे ‘लालीबजार’ कस्ताे छ ?


काठमाडौँ । आज वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको फिल्म ‘लालीबजार’ लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । प्रदर्शनको पूर्व सन्ध्यामा बिहिबार बेलुकी गरिएको भव्य प्रिमियरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फिल्म हेरेपछि ’लालीबजार’ को विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको अभिनयको प्रशंसा गरे ।

कलाकार मदनकृष्ण श्रेष्ठले ‘लालीबजार’ लाई पर्फेक्ट फिल्म लागेको प्रतिक्रिया दिए । उनले भने, ‘यो फिल्म सबै पक्षमा अब्बल छ, नेपाली कथालाई निकै राम्रोसँग पर्दामा प्रस्तुत गरिएको छ । आमा र छोरीको भावनात्मक सम्बन्धलाई फिल्मले निकै राम्रोसँग प्रस्तुत गरेको छ । १० मा यो फिल्मले १० नै नम्बर डिजर्भ गर्छ ।’

उनले फिल्मको विषयवस्तु छनोट गरेर निर्माण पक्षले देखाएको सहासको तारिफ गरे । कलाकार हरिवंश आचार्यले फिल्म सामाजिक संदेशसहित मनोरन्जनात्मक बनेको प्रतिक्रिया दिए ।

‘फिल्म एकदमै राम्रो छ, शब्दमा प्रसंशा गर्न सकिरहेको छैन । एकदमै राम्रो छ, मैले हेरेका मध्येमा राम्रो फिल्मको सूचीमा पर्छ लालीबजार’, अभिनेता आचार्यले भने ।

प्रिमियरमा उपस्थित फिल्मकर्मीले विषयवस्तुसँगै अभिनेत्री स्वस्तिमा खड्काको अभिनयको प्रसंशा गरेका थिए । फिल्ममा उनले निर्वाह गरेको भूमिकाले उपस्थित फिल्मकर्मीको आँखा रसाएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वस्तिमाले आफ्नो अभिनय क्षमता पुनः प्रस्ट्याएको प्रतिक्रिया दिँदै निर्माण कम्पनि षट्कोण आट्र्सले राम्रो फिल्म बनाएको बताए ।

‘स्वस्तिमा आफैँमा आफ्नो अभिनय क्षमताका कारण चर्चामा आउँछिन्, यसपटक उनले आफ्नो उचाई झन् बढाएकी छिन् । यो फिल्म हेर्ने जो कोहीको आँखा रसाउँछ, ढुक्क हुनुस् । यो फिल्म हाम्रो भाषामा भन्दा ’बबाल’ नै चल्छ’, अध्यक्ष डिसीले भने ।

उनले फिल्मले दर्शकको मन जित्नेमा विश्वस्त रहेको बताए । फिल्म हेर्न आइपुगेकी पूर्व मन्त्री सुमना श्रेष्ठले फिल्मले सामाजिक विभेद र त्यस विरुद्ध उठाउनु पर्ने कदमलाई फिल्मीशैलीमा सबैले बुझ्ने गरी देखाइएको बताइन ।

‘षट्कोण आट्र्सले सामाजिक विषयमा फिल्म बनाउँदै आइरहेको छ, यसपटक विषयवस्तु छनोटमा झनै परिपक्क भएको महसुस भयो । हाम्रो समाजमा रहेका राम्रा र नराम्रा पक्षलाई स्पष्टसँग सबैले महसुस गर्ने गरी देखाइएको छ । फिल्म हेने आउनेले केही सिक्दै, बुझ्दै नै फर्किनुहुन्छ भन्ने मलाई लागेको छ’, श्रेष्ठले भनिन् ।

नेता रवीन्द्र मिश्रले नेपाली समाजको एउटा कालखण्डको क्रुर र पीडादायी विभेदको विषयलाई ‘लालीबजार’ फिल्ममा कलात्मक र सशक्त ढङ्गबाट चित्रण गरिएको बताए ।

उनले भने,‘लालीबजारलाई किन विवादमा ल्याईयो मैले बुझिन् । यसले कलात्मक रुपमा विद्रोह बोलेको छ । यो एउटा आमाको कथा हो, जहाँ आमाले छोरीका लागि गर्ने सङ्घर्षलाई देखाईएको छ । यो फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्दै हलबाट निस्किदै गर्दा केही दिएर नै पठाउँछ ।’

बादी समुदायकी अभियता देवीसरा बादीले फिल्मको विषयवस्तुले आफ्नो आमाको सङ्घर्षलाई स्मरण गएको बताइन । उनले भनिन्, ‘यो फिल्म मेरो पनि कथा हो । मेरो आमाले पनि मलाई सङ्घर्ष गरेर पढाउनु भयो, मैले फिल्म हेरिरहँदा आमालाई देखे । यो हरेक आमा र छोरीले हेर्न पर्ने फिल्म बनेको छ । यो हरेक समुदायका महिलाले गर्व महसुस गर्ने फिल्म बनेको छ ।’

निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्मले देखाएको विषयले जो सुकै दर्शकको मनछुने बताए । ‘मैले सोचेको भन्दा बढी राम्रो लाग्यो फिल्म, किनकि यसको चर्चाले नै मेरो अपेक्षा बढाएको थियो । यो फिल्मलाई फिल्मकै रुपमा हेर्दा पनि मनोरन्जक छ भने यसले दिएको संदेश निकै महत्वपूर्ण छ । यसले दिएको संदेश बढी भन्दा बढी दर्शकसम्म पुग्नु जरुरी छ, त्यसैले यो फिल्म हेर्न जरुरी छ जस्तो लागेछ’, निर्देशक बस्नेतले भने ।
 
प्रिमियरमा फिल्म हेरेर निस्किएका अभिनेता अनुपबिक्रम शाही, महेश त्रिपाठी, गौरी मल्ल, गरिमा शर्मा, तेरिया मगर लगायतले पनि फिल्मको विषयले मन छोएको प्रतिक्रिया दिएका थिए ।

‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले फिल्मले पाएको प्रतिक्रियाले आफू उत्साहित रहेको बताए । ‘पहिलो दर्शक बन्नुभएका फिल्मकर्मीले दिनुभएको प्रतिक्रियाले निकै उत्साहित छु, आजदेखि सार्वजनिक रुपमा नेपालभरका हलमा प्रदर्शन भएको छ । हेर्नेले मन पराउनु हुन्छ भन्नेमा पूर्ण विश्वस्त छु’, उनले भने।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभियन्ताकी रूपमा परिचित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ