शनिबार, २३ साउन २०८३

भदाैदेखि शिक्षकहरुले देशब्यापी आन्दाेलन गर्ने


काठमाडौं । नेपाल शिक्षक महासंघले भदौदेखि पुन: देशव्यापी आन्दोलन गर्ने भएकाे छ ।

सरकारसँग पटक-पटक भएका सहमति कार्यान्वयन र विद्यालय शिक्षामा सुधारको माग गर्दै आन्दोलन गर्ने निर्णय गरिएको हो । हालै सम्पन्न परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै शिक्षक नेताहरूले शैक्षिक तथा पेसागत मागहरू पूरा गराउन निर्णायक आन्दोलनमा जाने बताए ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने मुख्य माग अघि सारेको बताए ।

यस्तै, बाल कक्षा शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकहरूको तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ताको व्यवस्था गर्नुपर्ने माग पनि महासंघको छ ।

राहत, साबिक उच्च माध्यमिक विद्यालयका अस्थायी/करार शिक्षक, बाल कक्षा, सिकाइ अनुदान, विशेष शिक्षा र प्राविधिक धारमा कार्यरत अस्थायी प्रकृतिका शिक्षकहरूको पेसागत सुरक्षा र स्थायित्वका लागि महासंघको माग छ । स्थायी शिक्षकहरूको आवधिक बढुवा र बढुवा अनुपातमा वृद्धि गर्नुपर्ने तथा निवृत्तिभरण (पेन्सन) का लागि सबै खाले स्थायी शिक्षकको नपुग सेवा अवधि थप गर्नुपर्ने विषयलाई पनि आन्दोलनको एजेन्डा बनाइने महासचिव तुलाबहादुर थापाले बताए ।

केपी ओली प्रधानमन्त्री भएकाे बेला २९ दिनसम्म आन्दाेलन गरेका शिक्षकहरुले सरकारले माग सम्वाेधन गर्ने सहमति गरेपछि आन्दाेलन स्थगित गरेका थिए । उक्त सहमति कार्यान्वयन नभएपछि शिक्षकहरु आन्दाेलनकाे तयारीमा लागेका हुन् । शिक्षककाे माग सम्वाेधनमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले चासाे नदेखाएकाे भन्दै तत्कालिन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ