- भदौ ०२, २०८१
काठामाडाैँ । फूलमाया गुरुङले धरणीधर काफ्लेलाई अटो भर्न दिएकी थिइन् । धरणीधरले पूरै प्रेमकथा लेखिदिए । फूलमायाले गुनासो पनि गरिन्, ‘अटो भरेको कि लभ लेटर लेखेको ?’ मुखले भन्न नसक्ने धरणीधरले आफूलाई कति प्रेम गर्छ, फूलमायाले अटो हेरेपछि थाहा पाइन् ।
जेन-जी पुस्ताका लागि प्रेम अभिव्यक्त गर्न अटो भर्न, प्रेमपत्र लेख्न वा पोस्ट कार्डको सहारा जरुरी छैन । यो पुस्ता म्यासेन्जरबाटै प्रस्ताव राख्छ । प्रतिक्रियाका लागि पनि धेरै समय कुर्न पर्दैन । म्यासेन्जर वा एसएमएसमार्फत उत्तिखेरै जवाफ पाउँछ ।
तर, ‘उनको कथा’ मा यी कुरा भेटिँदैन । ५० को दशकमा प्रेम गर्ने शैली कस्तो थियो, जेन-जी पुस्तालाई सुनाउँछ । जातभात, अन्तरजातीय विवाहजस्ता प्रसंगमा नेपाली समाज तुलनात्मक रुपमा अग्रगामी भए पनि मन पराएकै भरमा जोडीको विवाह सहजै भने अझै भैसकेको छैन । कुनैबेला जातले छेक्थ्यो भने अहिले सामाजिक प्रतिष्ठा र आर्थिक सम्पन्नता पनि मिसिएको छ ।
अभिनयमा अब्बलको उपाधि हात पार्दै आएका विपिन कार्की उर्फ धरणीधर काफ्लेले ‘उनको स्वीटर’मा आफ्नै रेकर्ड तोडेका छन् । लिम्बु गाउँमै हुर्किएको काफ्ले, दाहाल वा अरु कुनै युवकको चरित्रमा दुरुस्तै छन् धरणीधर ।
वैदेशिक रोजगार र अध्ययनका लागि भन्दै विदेश पुगेका र बुद्धजयन्तीका दिन कुनै पार्कमा खुम्चिएर उधाैली, उभौली मनाउने पुस्ताका लागि पुर्खाले धानेको खर्क र गोठ पनि नोस्टाल्जिक हुनसक्छ । छोरा पुस्ता त बाआमाको पछि लागेर भए पनि केही दिन गाउँबेसी गरे होला, नाती पुस्ताका लागि त चौरी, खर्क र गोठ दन्त्यकथाजस्तै भैसक्यो । पूर्वी पहाडको ५० को दशकको यथार्थ जीवनशैलीलाई निर्देशक नवीन चौहानले मेहनतपूर्वक पर्दामा उतारेका छन् ।
नयाँ पुस्ताका फिल्मकर्मीले पुरानाको सम्मान नगरेको गुनासो बेलाबेलामा सुनिन्छ । ५० का दशकका चर्चित जोडी दिलिप रायमाझी र निरुता सिंहको सम्मान निर्देशक चौहानले मिठो तरिकाले गरेका छन् । यही एउटा दृश्य आम पुराना कलाकारकाे सम्मानका लागि काफी छ ।
फिल्मको सुत्राधारै धरणीधर काफ्ले हुन् । उनको जीवनचक्रसंगै जोडिएर बनेको छ, ‘उनको स्वीटर’ । पूर्वेली भेगका कथा समेटेर बनेका फिल्मप्रति दर्शकको आकर्षण बढिरहेको बेला निर्देशक चौहान पनि त्यतै लागेछन् भन्न पनि सकिन्छ । तर, कथाबाचनमा उनले अन्याय गरेका छैनन् । केबल कुहिरा लागेको डाँडो खिच्ने, दुई/चार पात्रहरुलाई पूर्वका पोशाक लगाइदिएर पूर्वका कथामा फिल्म बनाएँ भन्ने निर्देशकका लागि चौहानले एउटा सन्देश दिएका छन्, कथा भन्न त्यति सजिलो छैन । हरेक दृश्यलाई सजिव बनाउन उनले गरेको मेहनत प्रशंसायोग्य छ ।
फूलमायाको प्रेममा मोहित भएका धरणीधरको सपना समान्य छैन । आफ्नै खलकको खेतको पुछारमा चँदरा चलाएर बसेको एउटा निमुखा दलितसंग उठबस गरेकै कारण काफ्ले खलकबाटै कुल बिगारेको आरोप खेपेका धरणीधरको सहोदर भाइले लिम्बुकी छोरी भगाएपछि लिम्बुहरुबाट पनि अपहेलित हुन्छन् । यतिसम्म कि भाइले लिम्बुको छोरी भगाएकै अभियोगमा लिम्बुहरुले घर बनाउने कामसमेत दिँदैनन् ।
अवैध कारोबार गरेर पैसा कमाउने, झापामा चार बिघा खेत किन्ने योजना बनाउँदै हिँडेका धरणीधरका बुबा अवैध कारोबारका पार्टनरहरुबाटै निर्घात कुटिएपछि आत्महत्याबाहेकको विकल्प हुँदैन ।
त्यसो त पूर्वी पहाड साहित्य सिनेमाका लागि निकै मलिलो मानिन्छन् । उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ देखि वसन्त बस्नेतको ‘महाभारा’ सम्मले पूर्वी पहाडको कथा भनेरै वाहवाही पाएँ । मनसरा, जारीलगायत धेरै फिल्म छन्, जहाँ पूर्वी पहाडको सौन्दर्यले दर्शकलाई हुरुक्कै पारेको छ ।
यस अर्थमा निर्देशक चौहानले पनि त्यही सौन्दर्य समिश्रण गरेर ‘उनको स्वीटर’ बनाए । लिम्बुहरुको बाहुल्यता रहेको ठाउँमा गुरुङ र काफ्लेको प्रेमकथा भनेर दर्शकलाई नयाँ खुराक दिएका छन् । फिल्ममा केही बिम्बहरु पेस गरेका छन्, जसको कारण फिल्मलाई सस्तो मसालेदार हुनबाट मात्रै जोगाएको छैन, दर्शकलाई मनोरञ्जन पनि दिएका छन् । पहिचानको आन्दोलन पेचिलो हुँदै गएको बेला लिम्बुहरुलाई सत्ताधारी र काफ्ले बाहुनलाई निमुखा पात्र बनाएर प्रस्तुत गरेर निर्देशक चौहानले बहसका लागि नयाँ विषय पेश गरेका छन् ।
नेपाली फिल्म गतिलो बनेन भनेर गुनासो गर्ने दर्शकका लागि ‘उनको स्वीटर’ मनोरञ्जनका लागि एउटा गज्जब सिनेमा हो भन्न सकिन्छ ।
टिप्पणीहरू: