बुधबार, ०३ वैशाख २०८२

वीरगञ्जमा भड्किएको सामाजिक सद्भाव कायम गर्न सरकार असफल: प्रभु साह


फाइल फाेटाे

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वीरगञ्जमा भड्किएको सामाजिक सद्भाव कायम गर्न सरकार असफल रहेको टिप्पणी गरेका छन् ।

आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै वीरगञ्जमा सरकारले सामाजिक सद्भाव एवं अमनचैन कायम गर्न गम्भीर नदेखिएको भन्दै दुख व्यक्त गरेका छन् ।

विगत पाँच दिनदेखि वीरगञ्जमा साम्प्रदायिक तनाव एवं कर्फ्युको सकसका बीच बाचिरहँदा समेत सरकार किन कानमा तेल हालेर सुतेको होला भन्दै आजपा अध्यक्ष साहले प्रश्न गरेका छन् ।

‘वीरगञ्जवासी लगातार ५ दिनदेखि साम्प्रदायिक तनाव एवं कर्फ्युको सकसमा बाचिरहँदा सरकार किन कानमा तेल हालेर सुतेकोहोला ? वीरगञ्जबाट ३/३ वटा संघीय मन्त्री रहेका ओली सरकारले वीरगञ्जको पिडादायी अवस्थाप्रति गम्भीर नदेखिनु दुःखद हो,’ आजपा अध्यक्ष साहले लेखेका छन् ।

देशको आर्थिक राजधानी एवं प्रमुख शहरको जनजिवन दिनदिनै बिग्रँदै गएको भए पनि सरकार मौन बस्नु लजास्पद रहेको टिप्पणी साहले गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा वीरगञ्जबाट नेकपा (एमाले)का नेता राजकुमार गुप्ता संघीय मामिलामन्त्री, नेपाली कांग्रेसका नेता अजय चौरसिय कानुनमन्त्री र जनता समाजवादी पार्टीका नेता प्रदिप यादव खानेपानीमन्त्री रहेका छन् ।

संघीय सरकारमा रहेका यी मन्त्रीसहित स्वयम प्रधानमन्त्रीसमेत वीरगञ्ज घटनाप्रति उदासिन हुनु दखद भएको बताउदै आजपा अध्यक्ष साहले वीरगंजमा सामाजिक सदभाव एवं अमनचैन कायम गर्न सरकारले विशेष पहलकदमी लिई घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन ध्यानाकर्षण गराएका छन् ।

‘वीरगञ्जमा सामाजिक सद्भाव एवं अमनचैन कायम गर्न नेपाल सरकारको विशेष पहलकदमीको माग गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही एवं पीडितलाई न्याय दिलाउन गम्भीर ध्यानाकर्षण गराउँदछु,’ आजपा अध्यक्ष साहले भनेका छन् ।

हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा निकालिएको शोभायात्रका क्रममा हिन्दु र मुस्लिम समुदायका बीचमा झडप भई सामाजिक सदभाव बिग्रेको हो । प्रशासनले आश्रुग्याससहित कर्फ्युसमेत जारी गरेको थियो । तर अहिले पनि वीरगञ्जको सामाजिक सदभाव कायम भएको छैन ।

पछिल्लो समय भएको हिजो भएको घटनामा दुई पत्रकारसमेत घाइत भएका छन् । आजपा अध्यक्ष साहले उनीहरुको स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । र यथासिघ्र वीरगञ्जको सामाजिक सद्भाव एवं अमनचैनका लागि सरकारले पहल गरोस् भन्ने मागसमेत गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ