- मंसिर १०, २०८२
काठमाडौं । गौर हत्याकाण्ड सहिद परिवारका पीडित रुपसागर उपाध्यायको दिनचर्या अचेल बदलिएको छ । गौर हत्याकाण्डका हत्याारालाई कारबाहीको माग गर्दै सडकमा आन्दोलन गर्दै आएकी उपाध्याय आजभोली काठमाडौंमा मत माग्दै हिडेकी छन् ।
काठमाडौंको जोरपाटीमा भेटिएकी उपाध्यायले घरघरमा पुग्ने र न्यायसंगै मत मागिरहेकी छन् । जोरपाटीका मतदातासंग भेटेकी उपाध्यायले भनिन, ‘म गौर हत्याकाण्ड सहिद परिवारको पीडित । गौरमा मेरो पतीको हत्या गरियो । न्याय माग्दै अदालत पुगे, सडकमा आन्दोलन गरे । न्याय पाइन, अब तपाईहरुले मलाई न्याय दिनुस, मलाई मत दिनुस । सडकदेखी अदालतसम्म मेरो कुराको सुनुवाई भएन, म संसदमा पुगेर आवाज उठाउछु । मलाई न्यायका लागि तपाईको मत महत्वपू्र्ण छ ।’
आगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनी काठमाडौं–३ बाट उम्मेदवार बनेकी छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)बाट उपाध्यायले उम्मेदवारी दिएकी छन् ।
उपाध्यायले चुनावी छलफल तथा भेटघाटलाई तिब्रता दिदै जोरपाटीका मतदाताको घर घर पुग्ने र मतसंगै न्याय पनि माग्ने गरेकी छन् । आफूलाई सरकार, अदालत, प्रहरी प्रशासनले न्याय दिन नसकेको बताउदै उपाध्यायले काठमाडौंमा न्याय माग्दै उम्मेदवारी दिएको बताइन् । ‘गौर हत्याकाण्डमा मेरो पतीको ज्यान गयो । तर सरकार, अदालत, प्रहरी प्रशासनले अहिलेसम्म मलाई न्याय दिएको छैन् । मेरो पतीको हत्यारालाई कारवाही गराउन मेरो उम्मेदवारी हो,’ उपाध्यायले भनिन्, ‘गौर हत्याकाण्डका हत्यारालाई कारवाही गराउनका लागि यहाँका मतदाताले मलाई मतदान गर्ने भन्दै समर्थन गर्नुभएको छ ।’
गौर हत्याकाण्डमा उपाध्यायका पती नर्मदेश्वर उपाध्यायको हत्या भएको थियो । तर हत्याराहरु खुलेयाम घुम्दै गर्दा पनि सरकारले कारवाही नगरेको उनले बताइन् । ‘यो बिषय म संसदमा जोडदार उठाउछु । साथै आम मतदाताको आवश्यक्ता, चाहनाको बारेमा समेत संसदमा जोडदार आवाज उठाउने प्रतिबद्धता मैले व्यक्त गरेको छु । मलाई यहाँको मतदाताले मतदान गरेर विजयी बनाउनेमा म पूर्णरुपमा विश्वस्त छु,’ उपाध्यायले भनिन् ।
टिप्पणीहरू: