- असार ०७, २०८०
भक्तपुर । गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको बताएका छन् ।
भक्तपरको एतिहासिक दरबारस्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा सहभागी उनले चुरे दोहनलाई समयमै रोक्न सकिएन भने चुरे क्षेत्र थप कमजोर बन्न गई तराई मधेसको जनजीवन अझै सङ्कटग्रस्त हुने धारणा राखे ।
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनको रूपमा लिनुपर्ने पनि उनले बताए ।
गणतन्त्रवादी आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने उनले सुझाब दिए ।
युवाहरुको विचार र सिर्जनशीलतालाई सम्मान गर्न आयोजित यस्ता कार्यक्रमले देशका युवालाई आफ्नै देशमा केही गर्छु भन्ने सन्देश दिने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल विदेशीले होइन हमी नेपाली आफैले बनाउनुपर्ने धारणा राखे । देश बनाउन सबै युवा जुट्नुपर्ने उनको भनाइ थियो । आर्थिक रूपमा स्वतन्त्र नभएको देश राजनीतिक रूपमा पनि स्वतन्त्र नहुने उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले युवासँग भएका ज्ञान, सीप तथा विशेषज्ञता देश र समाजका लागि प्रयोग गर्न प्रेरित गर्नुभर्ने औँल्याए ।
हरेक नागरिकले आफ्नो ठाउँ आफँै बनाउने प्रण गरे देशको छिट्टै विकास हुन्छ भन्दै प्रमुख प्रजापतिले उपत्यकाका सांस्कृतिक एव ऐतिहासिक सम्पदा संरक्षण सङ्घ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासले मात्र सम्भव हुने बताए ।
कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थियो । ‘म नागरिक म बनाउँछु नेपाल’ अन्तर्गत सन्देशमूलक श्रव्यदृश्य सामग्री निर्माण गर्ने मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पूर्वराष्ट्रपति डा यादवले पुरस्कार प्रदान गरे ।
टिप्पणीहरू: