- असार ०७, २०८०
काठमाडौँ। भारतको उत्तराखण्ड प्रदेशकाे उत्तरकाशी जिल्लाको धरालीमा आएको भीषण बाढीपहिरोमा हालसम्म काेही पनि नेपाली नागरिक मृत फेला नपरेको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा नेपाली नागरिक मृत फेला नपरेको जनाएकाे हाे।
नेपाली दूतावासका अनुसार उत्तराखण्ड प्रहरीले राजदूतावासलाई उपलब्ध गराएको जानकारीअनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट २ जनाको शव प्राप्त भएको छ। जीवित उद्धार गरिएका तथा मृतकको सूचीमा कुनै पनि नेपाली नागरिक नरहेको राजदूतावासले जनाएकाे छ।
यसैगरी राजदूतावासलाई प्राप्त विवरणअनुसार उत्तराखण्डकाे पौडी गढवाल जिल्लाको बागोडामा २१ गते गएको बाढीपहिरोपश्चात् ५ जना नेपालीहरू हराइरहेका छन्।
घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्केको र १ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको नेपाली दूतावासले जनाएको छ।
बाढीपहिरोपश्चात् त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रुपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरू तथा भारत सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
टिप्पणीहरू: