बिहिबार, १९ चैत २०८२

नातिकाजीका नाममा दर्जनलाई पुरस्कार दिने निर्णय


काठमाडौँ । नेपालको साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पु-याएका सङ्गीतकार नातिकाजी श्रेष्ठको स्मृतिमा नातिकाजी स्मृति समाजले विभिन्न व्यक्तिलाई पुरस्कृत गर्ने भएको छ ।

नातिकाजी स्मृति समाजको कार्यसमितिको आज बसेको बैठकले विभिन्न कलाकार तथा स्रष्टालाई नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समाजले एक विज्ञप्ति जारी गर्दै ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान’ गीतकार नारायणकुमार आचार्य, गायक जुजुकाजी रञ्जीत, गीतकार वीरेन्द्र पाठक, गायक शशी गुरुङ, गायक गणेश पराजुली, गीतकार/गायक/सङ्गीतकार डा भीमार्जुन आचार्य, सङ्गीतकार निर्वाणसिंह गुरुङ, गीतकार साबु गदाल, गीतकार तथा सङ्गीतकार अष्ट लामालाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार’बाट गीतकार मनोज खड्का, गायक रोशन गुरुङ, सङ्गीतकार ताराप्रकाश लिम्बू, गायिका सरिता शाही, एरेन्जर चाँद सिंह र रेकर्डिष्ट महेश्वर राजभण्डारीलाई पुरस्कृत गरिनेछ । ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’बाट गायिका सहिमा श्रेष्ठ, गायक सुरेश लामा तथा गायिका विपना तामाङलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’बाट प्रमोद उपाध्यायलाई पुरस्कृत गरिनेछ भने ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ पत्रकार अनन्त वाग्ले र गीता अधिकारीलाई प्रदान गर्ने निणय भएको समाजले जनाएको छ । 

हरेक वर्ष नातिकाजी श्रेष्ठको जन्मजयन्ती (पुस ३ गते) का दिन पुरस्कार घोषणा गर्दै आएकामा आमनिर्वाचन तथा विविध कारणले यस वर्षको पुरस्कार घोषणामा ढिलाइ समाजका सचिव विश्वास घिमिरेले जानकारी दिए । सम्मान तथा पुरस्कार सम्र्पण कार्यक्रमको मिति, समय र स्थानपछि सार्वजनिक गरिने उनले बताए ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ