सोमबार, ३० चैत २०८२

पहाड हेरेपछि डेब्यु गर्ल पञ्चमीको प्रसंशा


काठमाडौँ । आगामी नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने फिल्म फिल्म ‘पहाड’ लाई प्रिमियरमा रुचाइएको छ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको उक्त फिल्मका पहिलो दर्शक बनेका सेलिब्रेटीले फिल्मको कथावस्तु र कलाकारको अभिनयको प्रसंशा खुलेर गरेका छन् । बेरोजगारी, मानव विहिन रितिएको पहाड र पानीको समस्यालाई चित्रण गरिएको फिल्म हेरेपछि निर्देशक तथा कलाकार नीर शाहले नेपाली मौलिक फिल्म हेर्न आपको प्रतिक्रिया दिए ।

‘फिल्मले हाम्रो नेपालीपनलाई उजागर गरेको छ । तुलसीजीले आफ्नो शैलीमा अहिलेको नेपालको समसामयिक विषयलाई फिल्ममा देखाउनुभएको छ । फिल्मले हामीलाई हाम्रो पहाड देखाउँदै धेरै तथ्यसँग जानकार गराउँछ’, उनले भने । निर्देशक घिमिरेसँग ‘कुसुमे रुमाल’ मा काम गरेका अभिनेता भुवन केसीले फिल्म स–परिवार हेर्न मिल्ने बनेको प्रतिक्रिया दिए । ‘फिल्म निकै राम्रो बनेको छ । फिल्म हेर्दा रमाइलो लाग्छ, कता भावुक बनिन्छ । यो फिल्मले एउटा कम्प्लिट प्याकेज बनेको छ’, अभिनेता केसीले भने ।

यस्तै, निर्देशक घिमिरेसँग ‘दर्पणछायाँ’ मा काम गरेका जीतु नेपालले फिल्म हेर्दा भावुक बनेको बताए । ‘फिल्म हेर्दा खुसी भएको, भावुक भएको पत्तै नपाईने रहेछ । तुलसी सरले आफ्नै शैलीमा अहिलेको अवस्थालाई फिल्ममा देखाउनुभएको छ । फिल्म निकै राम्रो बनेको छ । मैले सानै हुँदा देखेको पन्चमी हिरोइन बनेकी छिन्, उनले राम्रो काम गरेकी छिन् । पहाड सचिक्कै चट्टान नै बनेको छ । स–परिवार नयाँ वर्षमा फिल्म हेर्दा हुन्छ’, अभिनेता नेपालले भने ।

यस्तै, फिल्म हेर्ने निर्देशक दीपाश्री निरौला, दीपक आचार्य, दिवाकर भट्टराई, अभिनेता रमेश उप्रेती, किरण केसी लगायतले फिल्मको प्रसंशा गरेका छन् । उनीहरूले फिल्मले नेपालको वास्तविकता दर्शाएको प्रतिक्रिया दिए । निर्देशक तथा लेखक तुलसी घिमिरेले फिल्मले पाएको प्रतिक्रियाले आफ्नो मेहनत सफल भएको बताए ।

उनले भने, ‘पहाड सन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो । पहिलो दर्शक बन्नुभएका फिल्मकर्मीमार्फत पाएको प्रतिक्रियाले निकै उत्साहित छु ।’

फिल्म ‘पहाड’ मा दनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ ।
अभिनेता अरुण क्षेत्रीले सानैदेखि हेर्दै आएको सफल फिल्मका निर्देशक घिमिरेसँग काम गर्न पाउनु सौभाग्य रहेको बताए ।

‘मेरो लागि आजको दिनको निकै महत्वपूर्ण छ, यो क्षणलाई व्यक्त गर्न सक्ने शब्द नै छैन । फिल्ममा मलाई विश्वास गरेर मौका दिनुभयो, म निकै कृतज्ञ छु । फिल्म राम्रो बनेको प्रतिक्रियाले निकै उत्साहित छु । दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छु’, उनले भने ।

निर्देशक घिमिरेकी कान्छी छोरी पन्चमी यसै फिल्ममार्फत डेब्यु गर्दैछिन् । निर्देशक घिमिरेसँगै निर्देशन समूहमा रहेर काम गरेकी पन्चमीले पर्दा अगाडिको अनुभव नौलो र फरक रहेको प्रतिक्रिया दिईन् ।

‘आफूलाई पर्दामा हेर्दा छुने अनुभूति हुने रहेछ, म प्रिमियरमा अरूको प्रतिक्रिया लिईरहेको थिएँ । म आफ्नो कामको रिभ्यू लिईरहेकी छु, यो मेरो लागि पहिलो काम हो । आफ्ना अग्रजमार्फत धेरै सिक्ने अवसर पाएकी छु’, अभिनेत्री घिमरेले भनिन् ।

फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ । निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् ।

भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’ मार्फत निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्री रुपमा डेब्यु गर्दैछिन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन राजेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ