आइतबार, ११ साउन २०८२

अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी


काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ।

सिन्धुलीकाे कमलामाई नगरपालिका-१ का युवराज पौडेल (सफल)ले प्रमुख आयुक्त राईमाथि आइतबार अख्तियारमा उजुरी दर्ता गरेका हुन्।

सफलले अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतमा मुछिएकाे भन्दै उनलाई आवश्यक छानविन गरी कारवाही गर्न माग गरेका छन्।

‘मिति २०८१ मंसिर २० गतेका दिन मुद्धा नं. ०८०-CR-०१४५ माथि अन्तिम सुनुवाई सम्पन्न गरी सार्वजनिक भएको पुर्ण पाठमा समेत आरोपित प्रेम कुमार राईमाथि मुद्धा नचलाएकोमा विशेष अदालतले आपत्ति प्रकट गरेको छ । त्यस्तै पुर्णपाठमा यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्ने जस्तो चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुन्छ यस्तो कार्यले कानुन सवैका लागि बराबर हो भन्ने भावनामा आघात पुऱ्याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउछ भनी विशेष अदालतको फैसलामा उल्लेख छ’, उजुरीमा भनिएकाे छ।

सफलले भनेका छन्, ‘तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् नेपाल वायुसेवा निगम संचालक समितिको अध्यक्षको हैसियतमा विमान किन्ने निर्णय गर्ने तर उनैलाई वाइडबडी जहाज भ्रष्टाचार प्रकरणमा प्रतिवादी नबनाउनु गम्भीर त्रुटी भएको विशेष अदालतको ठहर छ। अत तत्काल अख्तियार प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका प्रेम कुमार राईलाई पुरक अभियोग पत्रमार्फत मुद्धा दायर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्दै प्रस्तुत उजुरी पेश गरेको छु।’

भ्रष्टाचारमा मुछिएका, अदालतले समेत मुद्धा चल्न पर्ने भनी घुमाउरो हिसाबमा दोषी देखेको व्यक्ति राई नैतिक रुपमा १ सेकेण्ड पनि प्रमुख आयुक्तको कुर्सीमा बस्न नमिल्ने भन्दै सफलले तत्काल अख्तियार प्रमुख आयुक्तबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न माग गरेका छन्।

अटेर गरेको खण्डमा आवश्यक कानुनी प्रक्रियामा गएर पदमुक्त गराउने र भ्रष्टाचारको अभियोग लागेका मुद्धाहरु उपर अनुसन्धान गरी कारवाहीसमेत गराउने उनले उजुरीमार्फत ध्यानाकर्षण गराएका छन्। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ