बुधबार, २४ भदौ २०८३

सबै ग्यास उद्याेग खारेज गर्नु पर्छ : उद्याेगमन्त्री


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता औँल्याएकी छिन् ।
     
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले निगमले पटक–पटक पत्राचार गरे पनि ग्यास उद्योगबाट आवश्यक सहयोग नपाएको गुनासो गर्दै आपूर्ति सहज बनाउन समितिले आवश्यक निर्देशन दिनसमेत आग्रह गरिन् ।
     
“हाम्रो देशमा बढीमा दुईवटा ग्यास उद्योग चाहिएको छ । सबै खारेज गर्नुपर्छ,” उनले भनिन्, “आयल निगमले आफ्नो मातहतमा एउटा ग्यास उद्योग खोल्नैपर्छ ।” नेपालमा ५८ वटा ग्यास उद्योग रहे पनि तीमध्ये एउटा पनि निगमको मातहतमा नरहेको र उद्योगीहरूलाई आपूर्ति सहज बनाउन पटक–पटक आग्रह गरे पनि त्यसबाट अपेक्षित परिणाम नआएको उनको भनाइ थियो ।
     
“५८ वटा ग्यास उद्योगले तीन–तीन हजारका दरले हरेक दिन काठमाडौँमा सिलिन्डर पठाइदिएको भए आज यो स्थिति आउने थिएन”,  उनले भनिन्, “तर कसैले पठाइदिँदैन ।  हिजो पनि ४८ हजार सिलिन्डर काठमाडौँको लागि त्यहाँबाट हिँडेको छ । तर १९ हजारभन्दा बढी  गएको छैन । कहाँ गयो त्यो सिलिन्डर ? कसैलाई केहि थाहा छैन । माग्यो भने दिँदैन ।” उनले तेल, ग्यास, लुगा, खाद्यान्न र चिनी गरी पाँच वस्तुमा नेपाल आत्मनिर्भर हुनैपर्ने धारणा राखिन् ।
     
मन्त्री कुमारीले ग्यास उद्योगसम्बन्धी कानुन निर्माण तथा संशोधनमा कर्मचारीतन्त्रबाट सहयोग नपाएको गुनासोसमेत गरिन् । उनले उद्योगीहरूको हितअनुकूल बनेका नियम तथा कानुन परिवर्तन गर्न खोज्दा कर्मचारीबाट ‘मिल्दैन’ भन्ने जवाफ आउने गरेको बताइन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ