- असार ०७, २०८०
काठमाडौं । शनिवार धर्मचक्र पार्क (भगवान पाउ पार्क), स्वयम्भूमा एनिमल सेभ, नेपालको आयोजनामा राष्ट्रिय पशुपन्छी अधिकार दिवस (नार्ड) मनाए । यो कार्यक्रम मानवद्वारा मारिएका सबै पशुपन्छीको स्मरणमा दुई मिनेटको मौन धारणा गरी सुरू भएको थियो । त्यसपछि पशुपंक्षीको सम्झनामा दियो बालियो र पशुपंक्षीका तस्वीरमा फूल चढाएर श्रद्धाञ्जलीसमेत दिइयो ।
कार्यक्रममा पशुपंक्षीलाई कष्ट नदिईकन, पशुको माछामासुलगायत भोजन नखाइ पनि जीवन जिउन सकिन्छ भन्नेबारे अभियन्ताहरूले मन्तब्य राखे । त्यस्तै, शाकाहारी जीवनशैलीबारे नेपाल र विश्वभर भइरहेका प्रगतिबारे पनि सहभागीहरूलाई जानकारी दिइयो । स्मरणीय छ, तुलनात्मक रूपमा पशुहिंसाबारे जनमानसमा पहिलेभन्दा बढी चेतना बढ्दैछ । कानूनमा पनि केही सुधार हुँदैछन् ।
कार्यक्रमको सुरुवात बुद्ध पार्क (स्वयम्भू गेट)बाट भगवान पौ पार्कसम्मको शान्तिपूर्ण र मौन पदयात्राबाट सुरु गरिएको थियो । पशु अधिकारकर्मी र सहानुभूति राख्नेहरूले एकजुट भई पदयात्रा गर्दै पशुपन्छीका अधिकारका लागि वकालत गरे र उनीहरूको पीडाबारे बोले। ।
(धर्मचक्र पार्क) भगवान पाउमा पुगी सहभागीहरूले पशुका पीडा पोख्ने खालका कथा र कविता वाचन गरे । मौन धारण, फूल चढाउने र दियो बाल्ने कार्यसँगै पशु अधिकारको घोषणापत्रसमेत पढिएको थियो । उपस्थिति सबैले क्रुरतारहित जीवनशैलीमा प्रतिबद्ध हुने बताए र पशु अधिकारको घोषणापत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा नेपाल साकाहारी संघका अध्यक्ष कृष्ण गुरुङको गीत प्रस्तुति, र रघु आदित्यले लेखेको पुस्तक ‘शाकाहार तर्काधार’ सार्वजनिक गरियो ।
कार्यक्रमको अन्त्यमा कथाघेरा प्रोडक्सनद्बारा रचित ‘एनिमल फार्म’को एडप्टेसनबाट एक गीतको विशेष प्रस्तुति थियो । यस वर्षको नार्डमा लभिङ हार्ट भिगन रेष्टुरेन्ट, वाईट लोटस्, भिगन हाउस, सारा बेक्स भिगन, बेटर ब्याटर भिगन, सो भिगनलगायतको साथ रहेको थियो ।
टिप्पणीहरू: