- भदौ १२, २०८१
काठमाडौं, १८ मंसिर । डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ चार जनालाई प्रदान गरिने भएको छ ।
देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणका आधारमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार तथा अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको छ ।
अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार पाउने व्यक्तिको छनोट भने समितिका सदस्यहरू डा. कमल लामिछाने, होमनाथ अर्याल, सरिता लामिछाने र सुनिता थापाको निर्णयका आधारमा गरिएको थियो ।
अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच, दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित कास्की, पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक मुक्तिनाथ आचार्यलाई प्रदान गरिन पुरस्कार छनौट समितिले जनाएको छ । त्यस्तै गण्डकी प्रदेशस्थित कास्की, पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीद्वय गरिमा थापा र करिना काफ्लेलाई अन्तरदृष्टि हातेमालो पुरस्कार संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार डिजिटल अनलाइन पत्रिका ‘उकेरा डटकम’मा कार्यरत पत्रकार मोनिका वाइबालाई प्रदान गरिने पुरस्कार छनौट समितिले जनाएको छ ।
प्रमाणपत्रसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम २० हजार, रुपैयाँ रहेको छ । अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम १० हजार रुपैयाँ अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार १५ हजार रुपैयाँको रहेको छ । पुरस्कारहरू वसन्तपन्चमीका दिन प्रदान गरिनेछ ।
टिप्पणीहरू: