- भदौ ०१, २०८१
काठमाडाैं । कस्तुरी प्रोडक्सन प्रा.लिको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्स प्रा.लिको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को हाल धमाधम छायांकन भइरहेको छ । पश्चिम नेपालको दाङ जिल्लामा फिल्म छायांकन भइरहेको छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा सञ्जिव सार्कीको लगानी छ । फिल्मका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन् ।
यसैबिच, यो फिल्ममा अब नायक विपिन कार्की र नायिका निरुता सिंहको प्रवेश भएको छ । फिल्मको छायांकनको सुरुवाती दिनमा नायक पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको मात्र नाम सार्वजनिक भएको थियो । अब, फिल्ममा चर्चित दुई अनुहारको प्रवेश भएको जानकारी निर्माणपक्षले गराएको छ । फिल्मका निर्देशक सुनारका अनुसार, निरुताले केही दिनमै छायांकन सुरु गर्नेछिन् भने विपिनले दशैंपछि फिल्मको छायांकन सुरु गर्नेछन् । यी दुइको भूमिकाबारे केही पनि खुलाइएको छैन ।
संकल्प भुजेलको छायांकन रहेको यो फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृृष्ण बम मल्ल र दिनेश ढकालको संगीत छ । प्रकाश हमाल निर्माण प्रमुख रहेको फिल्ममा करण बहादुर साउदको मुख्य सहायक निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन छ ।
यो फिल्ममा रोहित वली र विकेश लामा प्रोडक्सन म्यानेजरको रुपमा छन् । एनवी महर्जनको एक्सन रहेको फिल्ममा मदन सुरखेतीको सह–लेखन छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।
एक महिनाको सेड्यूल तयार गरेर फिल्मको छायांकन भइरहेको छ । यो फिल्मले सामाजिक कथावस्तुलाई उठान गरेको छ । एक महिलाका लागि सिन्दूरको महत्व कति छ भन्ने कथालाई यो फिल्ममा देखाइने निर्देशक सुनारले जानकारी दिए ।
टिप्पणीहरू: