शनिबार, १६ जेठ २०८३

सुटिङमा घाेडाबाट खसेर बिजय बराल घाइते


काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् । छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो ।

यही जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो । करिब १५ दिनको सेड्युल सकेर बुधबार एक दृश्यका लागि घोडा चढ्ने क्रममा अचानक सन्तुलन बिग्रँदा बराल दुर्घटनामा परेका हुन् ।

निर्माण टिमका अनुसार उनको दाहिने हात फ्याक्चर भएको छ । तत्कालै कुस्मा लगी थप उपचारका लागि पोखरा पुर्‍याइएका बरालको दाहिने हातको नाडीमा जोर्नी हडिड्मा 'फ्याक्चर' देखिएपछि पलास्टर गरिएको टिमले जनाएको छ ।

मुख्य कलाकार नै घाइते भएपछि चलचित्रको छायांकन हाललाई पूर्ण रूपमा रोकिएको छ । निर्देशक सरोज पौडेलका अनुसार चलचित्रको कुल ३५ दिनको छायांकन सेड्युल तय गरिएको थियो । तर, यो अप्रत्यासित दुर्घटनापछि कलाकारसहितको टोली काठमाडौं फर्किएको छ ।

निर्देशक पौडेलले भने, ‘विजयजीको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो । चिकित्सकको सल्लाहअनुसार उहाँलाई कम्तीमा ३५ देखि ४० दिन पूर्ण आरामको आवश्यकता छ । त्यसैले बाँकी छायांकन अब आगामी असार १५ गतेपछि मात्र सुरु हुनेछ ।’

अभिनेता विजय बरालले भने,‘काम गर्ने क्रममा अचानक दुर्घटना हुन पुग्यो । यसले गर्दा टिमको सेड्युल केही समयका लागि प्रभावित भएको छ । अहिले डाक्टरको निगरानीमा छु र केही हप्ताको आरामपछि पुनः काममा फर्किनेछु ।’

उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण अन्य केही चलचित्रको छायांकन तालिकामा पनि सामान्य हेरफेर हुन सक्ने संकेत गरे ।

‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरिरहेका छन् । यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने मुख्य भूमिकामा छन् ।


सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ । आरआर फिल्मसले वितरण गर्ने यस चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ