सोमबार, ०८ असार २०८३

वसन्त थापाको ‘एउटा औसत जिन्दगी’


काठमाडौं । लेखक वसन्त थापाको संस्मरणात्मक कृति ‘एउटा औसत जिन्दगी’ सार्वजनिक गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण श्रेष्ठ कक्षमा आइतबार आयोजित समारोहमा पुस्तक लोकार्पण गरियो । लेखक थापा, साहित्यकार खगेन्द्र संग्रौला, विश्लेषक हरि शर्मा तथा थापाका नाति–नातिनीहरूले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।  

पुस्तकमा विभिन्न पत्रपत्रिका तथा पुस्तकमा प्रकाशित थापाका संस्मरणात्मक लेख सङ्गृहीत छन् । कार्यक्रममा साहित्यकार खगेन्द्र संग्रौलाले लेखक थापासँग उनको लेखनयात्रा, संघर्ष तथा तत्कालीन धरानको साहित्यिक परिवेशलगायत विषयमा संवादसमेत गरे ।  

पुस्तकमा सङ्गृहीत ‘म किन लेखक होइन’ शीर्षकको लेखको प्रसङ्ग उठाउँदै संग्रौलाले दर्जनौं निबन्ध लेखिसकेका र कृति प्रकाशन भइसकेका व्यक्तिले आफूलाई लेखक नभन्नु कत्तिको उचित हो भन्ने प्रश्न गरे । जवाफमा थापाले आख्यान विधामा कलम नचलाएकाले आफूलाई लेखकको परिभाषाभित्र राख्न सङ्कोच हुने सुनाए ।  

कार्यक्रममा विश्लेषक हरि शर्माले थापाको लेखनशैलीको प्रशंसा गरे । पुस्तकले एक पुस्ताको भोगाइ र समयचेतलाई जीवन्त रूपमा अभिव्यक्त गरेको उनको भनाइ छ । नयाँ पुस्ताले अघिल्लो समयको समाज, सोच र जीवनपद्धति बुझ्न पनि यो पुस्तक उपयोगी रहेको उनले जनाए ।

‘समयचेत बुझ्न नपढी नहुने पुस्तक हो, एउटा औसत जिन्दगी,’ शर्माले भने, ‘सम्पादकहरू खासमा अरूको कृति या रचना काँटछाँट गर्न सिपालु हुन्छन् । तर वसन्त थापा आफैंमा कुशल सम्पादक भएर पनि आफ्नो लेखन पनि उत्तिकै चुस्तदुरुस्त बनाउन सक्ने व्यक्ति हुनुहुन्छ ।’  

कार्यक्रममा फाइनप्रिन्टका प्रकाशक अजित बरालले वसन्त थापाको भाषाशैली र संस्मरण लेखनले नेपाली समाजको परिवर्तनशील चरित्रलाई बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्ने बताए । भाषा र अभिव्यक्तिका दृष्टिले पनि यो पुस्तक पठनीय रहेको उनले उल्लेख गरे । ‘भाषाका लागि मात्रै पनि यो पुस्तक पढिन्छ,’ उनले भने, ‘थापाका संस्मरणात्मक आलेख पढिरहँदा नेपाली समाजको परिवर्तनको दिशा र यहाँको समाजको चरित्र थाहा पाइन्छ ।’ त्यसैले यति शक्तिशाली पुस्तक प्रकाशन गर्न पाउँदा आफूहरू हर्षित बनेको उनको भनाइ छ ।  

पुस्तकमा के छ ?
संस्मरण विधामा विशिष्ट स्थान बनाएका वसन्त थापाका संस्मरणहरूको सङ्ग्रह हो, औसत एउटा जिन्दगी ।

विषय जे उठान गरे पनि उनको लेखन सुविचारित हुनुका साथै बिरलाकोटी ‘सेन्स अफ ह्युमर’ले भरिएको हुन्छ । सुललित भाषाविन्यास, व्यङ्ग्य र भाषिक सौन्दर्यको छनक पाइने यस कृतिमा लेखकले जीवनका विविध आयामलाई कुशल मूर्तिकारले प्रस्तरमा कला कुँदे जसरी सावधानीपूर्वक कुँदेका छन् । छुटिगएका बाल्यकालीन सम्झनाको कुटुरो खोलिदिनु, गाउँको मौलिक महक भेटाइदिनु र युवावस्थाको उष्ण जोसलाई पुनः तरोताजा गराइदिनु यस कृतिका विशेषता हुन् । सामान्य लाग्ने जीवनभित्रका असामान्य अनुभवहरूको सँगालो मान्न सकिन्छ, एउटा औसत जिन्दगीलाई । आत्मपरक भए पनि यो कृति एक प्रकारको सामाजिक दस्तावेज हो, जसले एउटा पुस्ताले भोगेको नेपाली समाजको रूपान्तरण, चुनौती र सङ्घर्षलाई उजागर गर्छ ।

को हुन् थापा ?
वसन्त थापा कुशल भाषा सम्पादक, सिद्धहस्त अनुवादक एवम् चर्चित स्तम्भकारसमेत हुन् । उनले लामो समय हिमाल खबरपत्रिकामा ‘ऋतुराज’ उपनामबाट ‘ऋतुविचार’ व्यङ्ग्यस्तम्भ लेखे । हिमाल द्वैमासिकका पूर्वसम्पादक थापा काठमाडांै इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष तथा हिमाल बुक्सका पूर्वप्रबन्ध निर्देशक पनि हुन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ