बिहिबार, २९ असोज २०८३

‘आ बाट आमा २’ काे मल्टिप्लेक्स हलमा आक्रामक अग्रिम बुकिङ


काठमाडाैं ।  बडादशैँको अवसर पारेर भोलि (असोज ३० गते, शुक्रबार) देखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित पारिवारिक चलचित्र ‘आ बाट आमा २’ ले देशभरका मल्टिप्लेक्सहरूमा आक्रामक अग्रिम बुकिङ (Advance Booking) प्राप्त गर्दै बक्स अफिसमा बलियो उपस्थितिको संकेत दिएको छ। प्रदर्शनको अघिल्लो दिन बिहीबारसम्म देशभरका सिनेमाघरहरूले चलचित्रलाई २०० भन्दा बढी शो बाँड्दै टिकट बुकिङ खुला गरेका छन्।

विशेषगरी काठमाडौँ उपत्यकाका मुख्य मल्टिप्लेक्सहरू बिग मुभिज, एफक्युब सिनेमाज, वान सिनेमाज, सिभिल मल, सिने रोयल नेपालगंज लगायतका हलहरूले चलचित्रलाई उच्च शो संख्याका साथै दर्शकको सर्वाधिक रोजाइमा पर्ने 'प्राइम टाइम' (दिउँसो र साँझको मुख्य समय) का आकर्षक शोहरू उपलब्ध गराएका छन्। अनलाइन टिकट खुल्नासाथ ती शोहरूमा दर्शकको चाप तीव्र गतिमा बढेको देखिएको छ।

उपत्यकाबाहिर मोफसलका प्रमुख व्यापारिक केन्द्रहरू पोखरा, बुटवल, नारायणगढ, नेपालगन्ज र धरान लगायतका सहरहरूमा समेत अग्रिम टिकट बुकिङ निकै उत्साहजनक छ। सडक कन्सर्ट र प्रचारप्रसारका क्रममा मोफसलमा देखिएको जनसागर हलको टिकट काउन्टरसम्मै अनुवाद भएको हल सञ्चालकहरूको भनाइ छ।

पहिलो भागको अभूतपूर्व व्यावसायिक सफलता, हालै सार्वजनिक ५ मिनेट लामो भावनात्मक ट्रेलर तथा युट्युबमा करोडौँ भ्युज बटुलिसकेका दशैँ गीतहरूको बलियो प्रभाव अग्रिम बुकिङमा प्रस्ट देखिएको छ। अत्यधिक भावनात्मक दृश्यका कारण सेन्सर बोर्डबाट ‘पीजी’ प्रमाणपत्र पाएको यो चलचित्र दशैँको बिदामा परिवारसहित हेर्न दर्शकहरू आतुर देखिएका छन्।

चन्द्र पन्तको निर्देशनमा विपना थापा, पल शाह, मलिका महत, स्वर्गीय प्रदीप रावत, साइग्रेस पोखरेल, नरेन खड्का लगायतका कलाकारहरूको अभिनय रहेको ‘आ बाट आमा २’ ले भोलि पहिलो दिनमै सिनेमाघरहरूमा उच्च अकुपेन्सीसहित आक्रामक व्यापार गर्ने पक्का देखिएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ