- असार ०७, २०८०
काठमाडौँ। झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा २१ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जना कारोबारीलाई पक्राउ गरेकाे साेमबार विज्ञप्तिमार्फत जनाएकाे छ ।
पक्राउ पर्नेहरूमा वीरेन्द्र प्रसाद साह, दीपेन्द्र प्रसाद साह, श्रवण कुमार साह, तारालाल यादव, हरेराम महतो, निरोज कुमार महतो, अलिता देवी महतो, प्रकाश सिंह,अरुण कुमार साह, प्रदिप कुमार साह, संजिवकुमार महतो, राज लोनिया कमल, भिम कुमारी गुरुङ, राम विलास साह, ममता कुमारी साह, बिकर्ण जंग राणा, गणपती पाण्डे, सलमा खातुन, सुशीला कुमारी शाहु, गोविन्द प्रसाद आचार्य र सम्भु मेहता रहेका छन् ।
उनीहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ कारोबार गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक सुधीर राजा शाहीले जानकारी दिए ।
विदेशबाट विप्रेषण बापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक विप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले अवैध कारोबार बापत प्राप्त गरेको गैरकानूनी रकमलाई उनीहरूले परिचालन गरेको भेटिएकाे ब्युरोले उल्लेख गरेकाे छ ।
ब्युरोका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू: