शनिबार, २१ भदौ २०८२

उत्तर कोरियाली रिसोर्टमा बिदा : सुरक्षाकर्मीकाे निगरानीमा मस्त घुम्न पाइन्छ


सुरक्षा गार्डहरूको उपस्थितिले अनास्तासिया स्यामसोनोभाको समूहको बिदा सामान्य ‘समुद्र तटको बिदा’ थिएन भन्ने कुरा स्पष्ट पार्यो ।

गत जुलाईमा, स्यामसोनोभा उत्तर कोरियामा बनेको  नयाँ रिसोर्ट भ्रमण गर्ने पहिलो पर्यटकहरू मध्ये एक थिइन्, जुन सामान्यतया बाहिरी संसारको लागि बन्द हुन्छ ।

यो रिसोर्ट देशको पूर्वी तटमा रहेको विशेष क्षेत्रमा बनेको छ, जहाँ उत्तर कोरियाली नेता किम जोङले आफ्नो बाल्यकाल बिताएका थिए ।

वोनसन कल्मा कोस्टल टुरिस्ट जोन नामक यो रिसोर्ट जुलाई १ मा उद्घाटन गरिएको थियो ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार क्षेप्यास्त्र परीक्षण स्थल नजिकै निर्माण गरिएको रिसोर्टमा होटल, रेस्टुरेन्ट, शपिङ मल र वाटर पार्क समावेश छन् ।

सुरुमा यो रिसोर्ट अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि खुला हुने भनिएको भए तापनि, अहिलेसम्म केवल रूसी नागरिकहरूलाई मात्र प्रवेश अनुमति दिइएको छ । तिनीहरू पनि मान्यता प्राप्त ट्राभल एजेन्सीहरू मार्फत मात्रै सहभागी हुन सक्छन् ।  

अनास्तासिया गत महिना १४ जना अन्य व्यक्तिसँग त्यहाँ गएकी थिइन् । यात्रा पूर्ण रूपमा नियन्त्रित थियो । गाइड र सुरक्षा गार्डहरू सधैं उनीहरूसँगै थिए, र उत्तर कोरियाली अधिकारीहरूको अनुमति बिना तालिकामा कुनै पनि परिवर्तन सम्भव थिएन ।
अनास्तासिया भन्छिन्,‘जब हामी सडकमा हिंड्यौं, स्थानीय मानिसहरू हामीलाई देखेर धेरै छक्क परे, किनभने यो देश लामो समयदेखि बाहिरी संसारबाट टाढा छ ।
बीबीसी न्यूज रसियनले रिसोर्ट भ्रमण गरेका व्यक्तिहरूको जियोट्यागहरूको लागि सामाजिक सञ्जालमा खोजी ग¥यो र त्यसपछि अनास्तासियालाई सम्पर्क ग¥यो । यो खोजी कुनै पनि ट्राभल एजेन्सी वा मिडिया संस्थाको सहयोग बिना गरिएको थियो ।

खाली समुद्र तटहरू र प्रतिबन्धित ठाउँ

अनास्तासियाका अनुसार उनको समूहलाई निर्माण स्थलहरूको तस्बिर खिच्न पनि निषेध गरिएको थियो र उनीहरूले छोटो लुगा नलगाइदिउन् भने अपेक्षा गरिएको थियो ।

यद्यपि यी प्रतिबन्धहरूको बावजुद, पनि खाली सेतो बालुवा समुद्र तटमा मानिसहरुले मुक्त भएर बिदा मनाए । 

‘समुद्र तट हरेक दिन सफा पारिएको थियो । एकदमै चिरिच्याट्ट । लाउन्ज कुर्सीहरू एकदमै नयाँ थिए, सबै कुरा चम्किलो थियो ।’ उनले भनिन् ।
कोभिड महामारीपछि, भाइरसको फैलावट रोक्न उत्तर कोरियामा अन्तर्राष्ट्रिय पर्यटन बन्द गरिएको थियो । तर गत वर्ष उत्तर कोरियाले फेरि रूसी पर्यटकहरूलाई आउन अनुमति दियो ।

फेब्रुअरीमा, पश्चिमी देशहरूबाट पनि पर्यटकहरू यहाँ आउन थाले, जसमा अष्ट्रेलिया, फ्रान्स, जर्मनी र बेलायतका मानिसहरू पनि समावेश थिए । तर, केही हप्ता पछि, कुनै कारण नदिई अचानक यो रोकियो ।

उत्तर कोरियाली नेता किम जोङ उनको पर्यटन प्रवद्र्धन गर्ने महत्वाकांक्षाको एक महत्वपूर्ण हिस्सा वोनसन कल्मा रहेको बताइएको छ । यसको परिकल्पना स्पेनको प्रसिद्ध पर्यटकीय स्थल बेनिडोर्मबाट लिइएको बताइएको छ ।

२०१७ मा, उत्तर कोरियाली प्रतिनिधिमण्डलले बेनिडोर्मको भ्रमण गरेको थियो ।

तर यो कसरी निर्माण गरियो भन्ने विवरण गोप्य राखिएको छ । मानव अधिकार समूहहरूले त्यहाँ काम गर्ने कामदारहरूको खराब अवस्थाको आलोचना गरेका छन् ।

जबरजस्ती श्रम, कठिन परिस्थिति, लामो समय काम गर्नुपर्ने जस्ता आरोप थियो ।

उद्घाटन भएको केही हप्तापछि, उत्तर कोरियाले घोषणा ग-यो कि रूसीहरू बाहेक विदेशी पर्यटकहरूलाई ‘अस्थायी रूपमा’ प्रवेश गर्न अनुमति दिइने छैन ।
अहिलेसम्म दुईवटा रूसी पर्यटक समूहले रिसोर्टको भ्रमण गरिसकेका छन् भने अर्को समूह हाल त्यहाँ छ ।

उत्तर कोरिया भ्रमण लागत


रूसबाट उत्तर कोरियाको एक हप्ताको यात्राको लागत ४१,८०० (लगभग २.४ लाख रुपैयाँ) छ, जसमा वोनसन कल्मा रिसोर्टमा तीन दिनको बसाइ समावेश छ । केही विज्ञापनहरूमा नजिकैको क्षेप्यास्त्र परीक्षण स्थलको पनि उल्लेख गरिएको छ र यसलाई ‘अद्वितीय’ बिदाको ठाउँको रूपमा वर्णन गरिएको छ ।
अनास्तासिया भन्छिन् उनी त्यहाँ हुँदा कुनै क्षेप्यास्त्र परीक्षण भएको थिएन, तर नजिकै खेलौना रकेटहरू ४४० मा बेचिएका थिए ।

आफ्नो यात्राको सामान्य अवस्थाको बारेमा कुरा गर्दै, उनी भन्छिन् उनको समूहले बिहान आठ बजे ब्रेकफास्ट गथ्र्यो । खानामा प्रशस्त मात्रामा मासु र टुक्रा पारिएको बन्दागोभी र गाजरको ग्रेभी समावेश थियो । समुद्र तटमा ५०० मिलिलिटरको बियरको बोतलको मूल्य ६० सेन्ट थियो ।

पर्यटकका अनुभवहरू

अर्की पर्यटक डारियाले इन्स्टाग्राममा लेखिन् कि रिसोर्ट ‘धेरै अपूर्ण’ महसुस भयो र रूसी पर्यटकहरूले चाहेको जस्तो थिएन ।

अनास्तासियाले भनिन्, ‘यदि तपाईं एसिया, टर्की आदिबाट गइसक्नु भएको छ र केहि अनौठो अनुभव गर्न चाहनुहुन्छ भने यो सही ठाउँ हो ।’
यद्यपि, अर्को पटक रूसी पर्यटकहरूलाई वोनसन काल्मा कहिले भ्रमण गर्न अनुमति दिइनेछ भन्ने कुरा अझै निश्चित भएको छैन ।

पहिलो तीन यात्राको आयोजना गर्ने ट्राभल एजेन्सी भोस्टोक इन्टूरले सेप्टेम्बरमा सम्भावित भ्रमणहरूमा बलियो चासो रहेको तर उत्तर कोरियाली अधिकारीहरूले अझैसम्म स्वीकृत नगरेको बताएको छ ।

सुरुमा, रूसी ट्राभल एजेन्सीहरूले सेप्टेम्बरको लागि अनलाइन भ्रमण विज्ञापनहरू पोस्ट गरे, तर पछि ती हटाइए ।

रुसीहरू मात्र होइन, चिनियाँ नागरिकहरूलाई पनि वोनसन कल्मा पुग्न कठिनाइ भइरहेको छ । चीन उत्तर कोरियाको छिमेकी, मुख्य सहयोगी र आर्थिक साझेदार मुलुक हो ।

उत्तर कोरिया–रूस सम्बन्धका विज्ञ तथा कुकमिन विश्वविद्यालयका प्राध्यापक आन्द्रेई लान्कोभका अनुसार उत्तर कोरियाले जानाजानी पर्यटकहरूको संख्या सीमित गर्छ र उनीहरूको गतिविधिलाई कडाइका साथ प्रतिबन्धित गर्छ ।

उनका अनुसार यसको एउटा कारण यो हो कि उत्तर कोरियाली जनताले धनी विदेशीहरूसँग आफूलाई तुलना गरेर आफूलाई कमजोर महसुस गर्नु हुँदैन ।
उनका अनुसार यही कारणले गर्दा उत्तर कोरियालाई लाग्छ कि देशमा धेरै विदेशी पर्यटक आउनु राम्रो होइन ।

रूसी पर्यटकहरूको लागि आराम

उत्तर कोरियामा यात्रा प्रतिबन्धहरू खुकुलो भएपछि, रूसबाट आउने पर्यटकहरूको संख्या बढेको छ । यद्यपि, यो अझै पनि अन्य पर्यटकीय गन्तव्यहरूको तुलनामा धेरै कम छ ।

रूसको संघीय सुरक्षा सेवाको सीमा गार्डका अनुसार, २०२४ मा लगभग १,५०० रूसी नागरिकहरूले पर्यटनको लागि उत्तर कोरियाको भ्रमण गरेका थिए ।
यसको तुलनामा, ६७ लाख भन्दा बढी मानिसहरूले टर्किएको भ्रमण गरे र लगभग १९ लाख मानिसहरूले चीनको भ्रमण गरे ।

तर २०२५ को दोस्रो त्रैमासिकमा १,६७३ रूसी पर्यटकले उत्तर कोरियाको भ्रमण गरे । यति ठूलो संख्या अन्तिम पटक २०१० मा देखिएको थियो, जब पर्यटकहरूमा कुनै प्रतिबन्ध थिएन ।

उत्तर कोरियाको कमजोर अर्थतन्त्रलाई पुनर्जीवित गर्ने प्रयासको एक महत्वपूर्ण हिस्सा मानिन्छ वोनसन काल्मा । यद्यपि, यो विवादबाट अछुतो रहेको छैन ।

रिसोर्टको बारे विवाद

२०१८ मा यो रिसोर्टको निर्माण सुरु भएदेखि नै मानव अधिकार संगठनहरूले कामदारहरूको शोषणको आरोप लगाउँदै आएका छन् । रिपोर्टहरूले मानिसहरूलाई कठोर परिस्थितिमा लामो समयसम्म काम गर्न बाध्य पारिएको दाबी गरेका छन् ।

उनीहरूलाई निकै ज्याला दिइयो, ताकि यो विशाल परियोजना सकेसम्म चाँडो पूरा गर्न सकियोस् ।

गत महिना बीबीसी भेरिफाइको एक रिपोर्ट अनुसार, संयुक्त राष्ट्र संघले उत्तर कोरियामा जबरजस्ती श्रम अभ्यासको बारेमा चिन्ता व्यक्त गरेको छ, विशेष गरी ‘शक ब्रिगेड’ वरपर, जहाँ कामदारहरूलाई प्रायः कठिन परिस्थितिमा काम गर्न बाध्य पारिन्छ ।

‘यो रिसोर्ट उही शक ब्रिगेडहरूले बनाएको रिपोर्टहरू छन् ।’ दक्षिण कोरियामा संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका जेम्स हीनानले भने ।
उनले थपे ‘हामीले यो काम पूरा गर्न मानिसहरूले २४ घण्टा काम गरिरहेको रिपोर्ट पनि प्राप्त गरेका छौं । मलाई यो एक झट्का जस्तो लाग्छ ।’

बीबीसीले टिप्पणीका लागि लन्डनस्थित उत्तर कोरियाली दूतावासलाई सम्पर्क गरेको छ ।

वोनसन कलामा पुग्न चुनौतीहरू र पर्यटकहरूमाथिको प्रतिबन्धको बाबजुद, अनास्तासिया अर्को वर्ष फेरि जान चाहन्छिन् ।
‘हामी वास्तवमा अर्को वर्ष फेरि सम्पूर्ण समूहलाई यो यात्रा गराउने सोचमा छौं ।’ उनी भन्छिन् “मलाई थाहा छैन यो सम्भव छ कि छैन, तर मैले सुनेको छु कि वोनसन–काल्मा नजिकै एउटा स्की रिसोर्ट छ । सायद म कुनै दिन त्यहाँ जान्छु ।’

बीबीसी  हिन्दीबाट
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ