- असार ०६, २०८०
काठमाडौं । ‘कुलिङ अफ पिरियड’ सन्दर्भमा भएकाे गडबडीमा सराेकारवालाहरु एक अर्कालाई दाेष लगाएर आफु चाेखाे बन्ने अभियानमा छन् । मंगलबार दिनभरजसाे प्रमुख राजनीतिक दलहरु यहि विषयमा केन्द्रित रहे । नेपाली कांग्रेसकाे जारी केन्द्रिय समिति बैठकदेखि विभिन्न समितीका बैठकमा सहभागीहरुले 'मैले हैन फलानाले' भन्न खालकाे अभिव्यक्ति दिए ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका सभापति रामहरि खतिवडा आफै गडबडीमा संलग्न भएकाे आशयकाे कुरा गरिरहँदा खतिवडा भने ‘कुलिङ अफ पिरियड’ दुई वर्ष नराख्ने प्रावधान कानुन मन्त्रालयले गरेको जिकिर गर्न थालेका छन्। मंगलबार दिउसाे म माथी पनि छानबिन हाेस् भनेर क्रान्तिकारी कुरा गरेका खतिवडाले पार्टी केन्द्रीय समितिको बैठकमा कानुन मन्त्रालयले दुई वर्ष अवधि हटाएर विधेयक पेश गरेको दाबी गरे।
समितिबाट पारित भएको व्यवस्था संशोधन गरेर एउटा उपदफा सच्याएर, एउटा उपदफा थप गरेर संसदमा पुगेको उनकाे भनाई छ । ‘तल उपदफा लेखिएछ, हामीलाई थाहा नभइकन, समितिका कसैलाई पनि थाहा नभइकन उपदफा लेखियो, उपदफामा के लेखियो भनेर जानकारी भएन । हामीले कसैले पनि, समितिलाई मात्र होइन, संसदलाई पनि जानकारी भएन,’ खतिवडाले भने ।
नेकपा एमालेका सांसद सूर्य थापाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छलछाम गरिएकाे भन्दै आपत्ति जनाए ।
उनले निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा घुसाइएको ‘बाहेक’ शब्दको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले लिनुपर्ने बताएका छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताए ।
योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै, छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।
स्वयं प्रधानमन्त्री केपी शर्मा ओली हटाउने पक्षमा थिए भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक थिएनन् ।
टिप्पणीहरू: