- असार ०६, २०८०
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे पार्टीकाे केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आम जनता पार्टी (आजपा) का कार्यकर्तालाई पार्टीमा प्रवेश गराउन आयोजित प्रधानमन्त्री ओलीले यस्ताे आग्रह गरेका हुन्।
उनले भण्डारीले राष्ट्रपति भएपछि पार्टी सदस्य त्यागेकाे भन्दै हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम नहुने दाबी गरे।
अध्यक्ष ओलीले पार्टीमा असन्तुष्ट र जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर पूर्वराष्ट्रपति भण्डारीले पार्टी एकतामा असहयोग गर्ने कुरा कल्पना पनि नगरेकाे बताए।
अध्यक्ष ओलीले भने, ‘अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरु आएको छ। खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो। हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन। उहाँले बाहिर बाहिर बोल्नुभएको छ। पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन। पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरुलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं।’
प्रधानमन्त्री आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएका छन्।
यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरु एमालेमा प्रवेश गरे।
अध्यक्ष ओलीले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै गलत बाटो देखाउनेहरुको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आएकामा धन्यवाद दिए।
‘हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौ। अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपाईहरु मुक्त हुनुभएको छ’, अध्यक्ष ओलीले भने, ‘हामी एमालेको ठुलो परिवार भएर लागौ। मिलेर देश बनाउँ। गलत काम नगरौ।’
कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताको लागि काम गर्छ भन्नु भ्रम रहेकोे अनुभव लिएर जनताको पार्टी एमाले नै आफ्नो गन्तव्य भएको बताए।
टिप्पणीहरू: