शुक्रबार, ०६ भदौ २०८२

संकथनको ‘नेपाल–भारत’ विशेषांक बजारमा


काठमाडौं । बुकवर्म फाउन्डेसनले प्रकाशन गर्ने अर्धप्राज्ञिक म्यागेजिन संकथनको दोस्रो अंक प्रकाशन भएको छ । हरेक अंक विषयविशेष हुने यस म्यागेजिनको यो छिमेक विशेष अंक ‘नेपाल–भारत’ जनस्तरको सम्बन्धमा केन्द्रित छ । यसअघिको अंक भने नेपाली गाउँ र सहरका बदलिँदा पाटाहरूमा केन्द्रित थियो ।

ऐतिहासिक, सांस्कृतिक, विशिष्ट जस्ता विशेषणको लेप लाग्ने भए पनि नेपाल–भारत सम्बन्धलाई सधैंभर काठमाडौं–दिल्लीबीचको राजनीतिक सम्बन्धका रूपमा मात्रै बुझ्ने अभ्यास रहिआएकामा यस म्यागेजिनले सीमान्त र जनताबीचको सम्बन्धको कोणलाई जोड दिएको छ । नेपाल–भारत सम्बन्ध जनस्तरमा आधारित हुनुपर्छ, सीमान्त नागरिकका आँखाबाट हेरिनुपर्छ भन्ने उद्देश्यले यस अंक प्रकाशन गरिएको हो ।

२८२ पृष्ठको यस अंकमा ६२ जना लेखकका ५९ रचना समावेश छन् । राजनीतिशास्त्री भास्कर गौतमले नेपाल–भारतबीचको सम्बन्ध कसरी ‘विशिष्ट प्राप्तिबोधको सम्बन्ध’ हो भन्ने व्याख्या गरेका छन् भने पूर्वपरराष्ट्रसचिव दुर्गा भट्टराईले दुई देशबीच रहेको प्रेम र घृणाको साइनो केलाएका छन् ।

मानवशास्त्री सुरेश ढकाल, पत्रकार सुधीर शर्मा, लेखक केदार शर्मा, अनुसन्धाताहरू समीक्षा न्यौपाने, अमित गौतम, जीवन बानियाँ, सदीक्षा भट्टराई, सुदेश्ना थापाले सीमान्तमा भइरहेका परिवर्तन केलाएका छन् । पत्रकारहरू गोपाल दाहाल र मिथिलेश यादवले सीमा वारपारका सम्बन्धका विभिन्न आयामबारे रिपोर्टिङ गरेका छन् । पत्रकार युवराज घिमिरेले सम्बन्धका दरारहरूबारे विश्लेषण गरेका छन् ।

यस अंकको अर्को उल्लेखनीय पक्ष अन्तर्वार्ताहरू हुन् । अन्तर्वार्तामा समाजशास्त्री मल्लिका शाक्यले सीमान्तमा कोभिड महामारीले पारेको प्रभाव विश्लेषण गरेकी छन् भने विश्लेषक सिके लालले नेपाल–भारत सम्बन्धका विभिन्न आयाम केलाउँदै मधेस आन्दोलनबारे नयाँ तथ्यहरू उजागर गरेका छन् । राजनीतिशास्त्री हरि शर्माले नेपाली आन्दोलनमा भारतीय भूमिकाको लेखाजोखा गरेका छन् । राजनीतिज्ञ मोहनविक्रम सिंहले नेपाली वाम आन्दोलन र भारतको सम्बन्ध केलाएका छन् । पत्रकार कनकमणि दीक्षितले हिन्दूत्व राजनीतिले गिजोलेको सम्बन्धको चर्चा गरेका छन् । फिल्म निर्देशक तुलसी घिमिरेले नेपाल–भारतबीचको चलचित्र साइनो वर्णन गरेका छन् । राजनीतिज्ञ राजन भट्टराईले ईपीजी प्रतिवेदनको विवाद बताएका छन् । अर्थमन्त्री विष्णु पौडेलले भारतीय बजारमा नेपाली आकांक्षाको वर्णन गरेका छन् ।

त्यस्तै गोविन्द टन्डन र मञ्चला झाले द्विदेशीय सम्बन्धको धार्मिक–सांस्कृतिक पाटो केलाएका छन् । प्राध्यापक अरुण गुप्तोले भने दक्षिण एशियाकै सबाल्टर्न बहसबारे चर्चा गरेका छन् । अनुसन्धाता दीपक अर्यालले नेपालमा हुने भारत विरोधको मनोविज्ञान खोतलेका छन् । प्रभाकर शर्मा, सुरेश शर्मा र विपीन अधिकारीले छुट्टाछुट्टै लेखमा सुरक्षाको कोणबाट विश्लेषण गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्धका उप–प्राध्यापक गौरव भट्टराई, पूर्व–परराष्ट्रसचिव मदनकुमार भट्टराईहरू आ–आफ्नो लेखनमा कूटनीतिक सम्बन्धबारे भिन्दाभिन्दै कोणबाट घोत्लिएका छन् ।

जलस्रोतविज्ञ अजय दीक्षित, पत्रकार कुन्द दीक्षित र वनस्पतिशास्त्री कमल मादेनले प्राकृतिक सम्बन्धका विभिन्न आयाम वर्णन गरेका छन् । पुष्प शर्मा र रघुनाथ अधिकारीले आर्थिक कोणबाट भिन्दाभिन्दै विश्लेषण पस्केका छन् ।

इतिहासकारहरू प्रत्यूष वन्त, अलका आत्रेय चुडाल, देवेन्द्र उप्रेती र रुख गुरुङले दुई देशबीच रहेको विद्याको साइनोलाई भिन्दाभिन्दै प्रसंगबाट वर्णन गरेका छन् । उपेन्द्रराज पाण्डेय, सिर्जना सुब्बा, बुलु मुकारुङ र सेवा भट्टराईले साहित्यिक सम्बन्धका पाटा खोतलेका छन् ।

यस अंकको अर्को विशेषता ऐतिहासिक सामग्री पनि हुन् । इतिहास अन्वेषक शुभाङ्ग पाण्डेले राणाकालअघि भारतमा रहेर नेपाली राज्यका लागि काम गर्ने गुप्तचरको रोचक वृत्तान्त कहेका छन् । अर्का इतिहास अन्वेषक निर्मल श्रेष्ठले गोर्खा एकीकरणअघि पाल्पा र अवधको सम्बन्ध खोतलेका छन् । शुभाष नेपाली र बसन्त थापाको भारतसँग जोडिएका भिन्दाभिन्दै स्मृतिले मन्थनलाई रसिलो बनाएको छ ।

संकथनको यस अंकले नेपाली मात्र नभई भारतीय लेखकहरूलाई पनि समेटेको छ । भारत, उत्तराखण्डका इतिहासकार शेखर पाठकले महाकाली वारपारको ऐतिहासिक जनस्तरको सम्बन्धको गाथा कहेका छन् । नर्थ बंगाल विश्वविद्यालयका अनुसन्धाता विनायक सुन्दासले नेपाली भूपरिदृश्यको शक्ति खोतलेका छन् । भारतीय पत्रकार आनन्दस्वरुप बर्माले अन्तर्वार्तामा भारतीय सत्ताको मनोविज्ञान उजागर गरेका छन् । अनुसन्धाता सब्यसाची दत्तले दुवै देशका युवाको साझा आकांक्षालाई जोड दिएका छन् । नम्रता चतुर्वेदी र निलय चक्रवर्तीले साहित्यको सम्बन्धमा कलम चलाएका छन् ।

स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको नेपाल भ्रमणको भारतीय पत्रकार जगदीश अरोडाको रिपोर्टिङले तत्कालीन भारतीय मिडियाको दृष्टि चियाउने अवसर दिएको छ । भारतीय लेखकहरू शोकिन चौहानको पुस्तक विमर्श र स्मृति रवीन्द्रको उपन्यासबारे नेपाली समीक्षक निर्जला अधिकारीको समीक्षाले पुस्तकको सम्बन्ध दर्साएको छ ।

नेपाल र भारतबीच सुल्झिन बाँकी समस्या लिम्पियाधुरा–लिपुलेक–कालापानीलाई पृष्ठमा राखेर नेपालमा भारतीय सीमा चौकीको स्थापनाबारे बेलायती अनुसन्धाता स्याम कोवनले तयार पारेको लेख र ती चौकी हटाउने क्रममा भएको नेपाली अभ्यासबारेको टिप्पणी पनि यस अंकको अर्को पठनीय सामग्री हो ।

रविन गिरी सम्पादक रहेको संकथनको प्रकाशन बुकवर्म फाउन्डेसनका लागि नीरज भारीले गरेका हुन् । सात सय रुपैयाँ मूल्य रहेको यो म्यागेजिन भदौ ६ बाट देशभरका पुस्तक पसलमा उपलब्ध छ । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ